

काठमाडौँ ।
नेपालमा वायु प्रदूषणका कारण बर्सेनि ४८ हजार भन्दा बढी नेपालीको ज्यान जाने गरेको पाइएको छ । काठमाडौँ उपत्यकामा मात्रै वर्षमा ५ हजारभन्दा बढीको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको वातावरणविद् भूषण तुलाधरले जानकारी दिए ।
‘वायु प्रदूषणले बालबालिका, महिला र सीमान्तकृत समुदायमा परेको असरसम्बन्धी एक अन्तरक्रिया कार्यक्रम’ मा बोल्दै तुलाधरले काठमाडौँको प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा ८ गुणा बढी रहेको समेत बताए ।
तुलाधरका अनुसार विश्वमा ९९ प्रतिशत मानिसहरू प्रदूषित वायु भएको ठाउँमा बस्ने गरेका छन् । ‘वायु प्रदूषणकै कारण विश्वभर प्रत्येक वर्ष ८१ लाख मानिसको मृत्यु भएको छ, वातावरणविद् तुलाधरले भने, ‘यी मध्ये ९० प्रतिशत मृत्यु कम र मध्यम आय भएका देशहरूमा हुने गरेको छ ।’
सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको वायु प्रदूषण करिब १८ प्रतिशतले घटेको छ । तर, अझै पनि नेपालको वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड भन्दा ८ गुणा बढी छ । यसलाई घटाएर विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पु¥याउन सके हरेक नेपालीको आयु ३ दशमलव ४ वर्ष र काठमाडौँबासीको उमेर २ दशमलव ६ वर्ष बढ्ने विभिन्न अध्ययनहरूले देखाएको तुलाधरले बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ स्वास्थ्य प्रशासक डा.समीरकुमार अधिकारीका अनुसार नेपालमा जलवायु परिवर्तनको असर चरम मौसमी घटनाबाट अनुभव गर्न सकिन्छ । हाल दिन र रात दुवै पहिलेका तुलनामा तातो भइरहेका छन् । अर्थात् चिसो दिन र रातको संख्या कम हुँदै गएको पाइन्छ ।
अधिकारीले भने, ‘विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०३० देखी २०५० को बिचमा जलवायु परिवर्तनले मलेरिया, कुपोषण, झाडापखाला र गर्मीका कारण थप दुई लाख पचास हजार मान्छेको मृत्यु हुने अनुमान छ ।’
काठमाडौँमा सबैभन्दा बढी सवारी साधनले नै वायु प्रदूषण गराएको उनको भनाइ छ । हाल जलवायु तथ्याङ्क आदान प्रदान गर्न स्वास्थ्य सेवा विभाग र जल तथा मौसम विज्ञान विभाग बिच सम्झौता भएको पनि अधिकारीले बताए । कान्ति बाल अस्पतालका चिकित्सक डा.जगतजीवन घिमिरेले दक्षिण एसियामै नेपालका बालबालिका वायु प्रदूषणको बढी जोखिममा परेको बताए ।
