एजेन्सी ।
विद्यार्थी आन्दोलन चर्किएपछि प्रधानमन्त्री पद त्याग्दै बंगलादेशबाट गत अगस्ट ५ तारिखका दिन भागेकी शेख हसिना तीन साताभन्दा बढी समयदेखि भारतमा बसिरहेकी छन् ।
भारत सरकारले हसिना र उनकी बहिनी शेख रेहानालाई अत्यन्त गोप्य र कडा सुरक्षामा राखेको छ । तर यस विषयमा आफ्नो अन्तिम निर्णय के हुन्छ, भारतले अहिलेसम्म बताएको छैन ।
यसैबीच बंगलादेश सरकारले गत हप्ता शेख हसिनाको कूटनीतिक राहदानी रद्द गरिदिको छ । यसले गर्दा प्रश्न उठेको छ– अब उनीहरू भारतमा बस्ने कानुनी आधार के ?
वर्तमान पृष्ठभूमिमा शेख हसिनाको सवालमा तीनवटा विकल्प वा बाटो खुला रहेको संकेत भारतीय सरकारका उच्च अधिकारी र विश्लेषकहरूले गरेका छन् ।
तीन विकल्प
पहिलो विकल्प भनेको शेख हसिनालाई तेस्रो मुलुकमा शरण लिने व्यवस्था मिलाउनु हो । जुन उनीहरूको सुरक्षाको ग्यारेन्टी भएको ठाउँ हुनुपर्छ । दोस्रो विकल्प भनेको राजनीतिक शरण दिएर उनलाई भारतमै अस्थायी बसाइको व्यवस्था गर्नु । तेस्रो विकल्प भने तत्काल सम्भव नहुन पनि सक्छ । तर भारतीय अधिकारी र पर्यवेक्षकको समूहले केही दिनपछि स्थिति सुधार भए बंगलादेशमा शेख हसिनाको राजनीतिक फिर्ताका लागि भारतले पनि प्रयास गर्न सक्ने बताएको छ ।
यसको कारण भनेको पार्टी वा राजनीतिक शक्तिका रूपमा अवामी लिग अझै समाप्त भइसकेको छैन र हसिनाले आफ्नो देश फर्किएपछि पार्टीको जिम्मेवारी सम्हाल्न सक्छिन् । कूटनीतिक वृत्त र थिंक ट्यांक नेताहरूलाई भारतका लागि पहिलो विकल्प उत्तम हुने कुरामा कुनै शंका छैन ।
यसको कारण के हो भने शेख हसिना भारतमै रहे दिल्ली–ढाका सम्बन्धमा प्रतिकूल असर पर्न सक्छ । यसका साथै भारत–बंगलादेश सुपुर्दगी सन्धिअन्तर्गत ढाकाबाट शेख हसिनाको सुपुर्दगीका लागि कुनै अनुरोध आएमा दिल्लीले कुनै न कुनै तर्कका आधारमा त्यसलाई अस्वीकार गर्ने कुरा पनि निश्चित छ ।
पर्यवेक्षकहरू शेख हसिना न्यायिक प्रक्रिया सामना गर्न बंगलादेशलाई हस्तान्तरण गर्नु भारतका लागि व्यावहारिक विकल्प नभएको बताउँछन् । यस्तो अवस्थामा सीधा भन्नुपर्दा शेख हसिनाका सवालमा भारतका लागि माथि उल्लिखित तीन विकल्प खुला छन् । यस सामग्रीमा ती तीन विकल्पका सबै पक्ष र तिनका सम्भावनाबारे छलफल गरिएको छ ।
भारतको अन्तिम औपचारिक वक्तव्यअनुसार शेख हसिनाको भारत भ्रमण ‘सामयिक’ थियो । विदेशमन्त्री एस. जयशंकरले अगस्ट ६मा संसद्मा बंगलादेशको अवस्थाबारे आफ्नो बयानमा हसिनाको भारत आएको प्रसंग उल्लेख गर्दै ‘फर द मोमेन्ट’ (तत्कालका लागि) शब्द प्रयोग गरेका थिए । त्यसयता यस विषयमा भारत सरकारले कुनै प्रतिक्रिया दिएको छैन ।
यसको कारण शेख हसिनालाई सुरक्षित रूपमा तेस्रो मुलुक पठाउने प्रयास जारी छ । तर यसमा तत्काल सफलता हात लागेन भने पनि भारतले उनीहरूलाई राजनीतिक शरण दिएर लामो समयसम्म यहाँ राख्न हिचकिचाउने छैन ।
विदेश मन्त्रालयका एक अधिकारीले भने, ‘हामी राम्रोको आशामा छौँ, सबैभन्दा खराब स्थितिका लागि पनि तयारी गर्दैछौँ ।’ यो भनाइ तात्पर्य के हो भने भारत शेख हिसिनाका सवालमा राम्रो (उनी तेस्रो मित्र राष्ट्रमा गएर बस्न सक्नेछन्) हुने आशा छ । त्यसो भएन भने पनि दिल्ली सबैभन्दा खराबका लागि तयार हुनेछ (अर्थात् शेख हसिनालाई लामो समयसम्म भारतमा राख्नुपर्नेछ )।
शेख हसिनाको अमेरिका भ्रमणको प्रस्तावमा प्रारम्भिक अवरोध आएपछि भारतले यूएई, साउदी अरेबिया र युरोपका दुई साना देशसँग पनि यस विषयमा छलफल गरेको जानकारी बीबीसी हिन्दीले पाएको छ । तर, यस विषयमा अहिलेसम्म कुनै सफलता प्राप्त भएको छैन । शेख हसिनालाई शरण दिने विषयमा अब भारतले मध्यपूर्वको अर्को प्रभावशाली देश कतारसँग पनि वार्ता गरिरहेको बताइएको छ ।
यससँगै शेख हसिना आफैँले अमेरिका वा यीमध्ये कुनै पनि देशमा राजनीतिक शरणका लागि लिखित निवेदन दिएकी छैनन् भन्ने कुरा पनि सत्य हो । यस विषयमा मौखिक सहमतिका आधारमा सबै वार्ता भारत सरकारले नै गरिरहेको छ ।
अब प्रश्न उठ्छ– शेख हसिनालाई राजनीतिक शरण दिन कुनै तेस्रो देश राजी भएमा उनी दिल्लीबाट कुन पासपोर्टमा त्यो मुलुक जाने ?
ढाकाका लागि पूर्वभारतीय राजदूत रिवा गांगुली दासले बीबीसी हिन्दीलाई भनिन्, ‘यो ठूलो समस्या होइन । यदि बंगलादेश सरकारले उनको राहदानी खारेज गरेको छ भने भारतले जारी गरेको ट्राभल डकुमेन्ट वा परमिटको सहायतामा उनी तेस्रो मुलुक जान सक्छिन् । उदाहरणका लागि त्यहाँ हजारौँ तिब्बती शरणार्थी छन्, जसले कहिल्यै पासपोर्ट बनाएका छैनन् । यस्ता विदेशीका लागि भारतले ट्राभल डकुमेन्ट (टीडी) जारी गर्छ । त्यसैको सहयोगमा उनीहरू संसारभर घुमिरहन्छन् ।’
मानौँ कि ’एक्स’ भन्ने देश शेख हसिनालाई शरण दिन तयार भयो भने भारत सरकारले जारी गरेको ट्राभल डकुमेन्टमा सम्बन्धित मुलुकको भिसा लिएर उनी सजिलै त्यहाँ जान र बस्न सक्छिन् ।
रिवा गांगुली अगाडि भन्छिन्, ‘यो नियम व्यक्ति विशेषका लागि हो । योसँगै के बिर्सन हुँदैन भने शेख हसिनाको विशाल ’राजनीतिक प्रोफाइल’ छ । जसका कारण उनका सवालमा धेरै नियम सहज हुन सक्छन् ।’
भारतले आवश्यक परेमा शेख हसिनालाई राजनीतिक शरण दिन र देशमै राख्न नहिचकिचाउने संकेत पनि दिल्लीले गरेको छ । भारतले यसअघि तिब्बती धर्मगुरु दलाई लामा, नेपालका राजा त्रिभुवन वीरविक्रम शाह र अफगानिस्तानका राष्ट्रपति मोहम्मद नजिबुल्लाहलाई राजनीतिक शरण दिई सकेको छ । शेख हसिना पनि सन् १९७५ मा आफ्नो परिवारसँग भारतमा बसिसकेकी छन् ।