काठमाडौं ।
राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवालीले राजीनामा दिएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनको राजीनामा स्वीकृत गरेको छ ।
सचिवहरुमध्ये सबैभन्दा वरिष्ठ रहेर वरियतामा एक नम्बरमा रहेका ज्ञवाली समक्ष बुधबार नै मुख्यसचिव नियुक्त नगर्ने सन्देश पुगेको थियो । उनी आगामी भदौ २२मा अवकाशमा जाँदै थिए । सरकारले मुख्य सचिव बनाउने सम्भावितको सूचीमा उनी पहिलो दावेदार थिए ।
तर, प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन गृह सचिव एकनारायण अर्यालसँग भेटघाट गरेर मुख्यसचिवका लागि तयार रह्न भनेका थिए । यो सन्देश पुगेलगत्तै ज्ञवालीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राजीनामा बुझाएका थिए ।
स्रोतका अनुसार बिहीबारको मन्त्रिपरिषद बैठकले ज्ञवालीको राजीनामा स्वीकृत गर्दै एकनारायण अर्याललाई मुख्यसचिव नियुक्त गरेको थियो ।