Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

कुन महिनामा नेपाली दम्पती बढी सन्तान जन्माउँछन् ?





काठमाडौं ।
नेपालमा सर्वाधिक प्रसूति गराउने स्वास्थ्य संस्था हो, थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल । तथ्यांकले देखाउँछ, यहाँ वार्षिक २५ हजार हाराहारी प्रसूति गराइन्छ ।
यही तथ्यांकलाई आधार मानेर हामीले ५ वर्ष यताको जन्मदर र जन्म–महिनाको अनुपात हे¥यौं । यसबाट के देखियो भने नेपाली दम्पतीले साउन, भदौ र असोज महिनामा बढी सन्तान जन्माएका छन् ।
प्रसूति गृहको तथ्यांकले यी तीन महिनामा २२०० देखि २३०० को हाराहारीमा सन्तान जन्मिएको देखाउँछ । तर फागुन, चैत, वैशाख लगायत महिनामा सो संख्या घटेर १५०० देखि १६०० मा आइपुग्छ ।
हामीले आव २०७६–७७ देखि २०८०–८१ सम्म पाँच बर्षको तथ्यांक केलाएका थियौं । पाँच बर्षको अवधिमा जन्म संख्या र महिनाको अनुपात लगभग मिल्दो देखियो । जस्तो आव २०७६–७७ को साउन महिनामा २२ सय ७३ जनाको प्रसूति गराइएको छ भने आव २०८०–८१ को सोही महिना २१ सय ४१ जनाको प्रसूति गराइएको छ ।
जबकि आव २०७६–७७ को चैत महिनामा त्यो संख्या घटेर १६ सय ५९ मा पुगेको छ । यस्तै २०८०–८१ को चैतमा पनि १५ सय १७ जनाको प्रसूति गराइएको देखिन्छ । अरु आर्थिक बर्षहरुको अनुपात करिब यस्तै छ ।
निश्चित महिनामा बढी सन्तान जन्मनु संयोग मात्र हो वा मनोसामाजिक कारण पनि ? यो प्रश्नको जवाफ खोज्न गर्भाधानको महिनातर्फ फर्कनुपर्ने हुन्छ । र, त्यसका लागि गर्भाधान चक्र बुझ्नुपर्ने हुन्छ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीका अनुसार महिलाको गर्भाशयमा महिनामा एकपटक डिम्ब उत्पादन हुन्छ ।
महिनावारी भएको दिनबाट गन्ती सुरु गर्दा १४ दिनमा डिम्ब उत्पादन हुन्छ । यसरी उत्पादन भएको डिम्ब ४८ घण्टासम्म बाँच्छ । त्यस्तै, पुरुषको शुक्रकीट भने ७२ घण्टासम्म जीवित रहन्छ । यस अवधिमा पुरुषको शुक्रकीट महिलाको डिम्बमा निषेचन भएपछि गर्भ रहन्छ । यसरी गर्भ रहेको ९ महिनापछि बच्चा जन्मन्छ ।
अब सर्वाधिक बच्चा जन्मने महिनालाई आधार मानेर हेर्दा कात्तिक, मंसिर र पुस महिनामा दम्पतीले गर्भाधान गरेको पाइन्छ । यिनै महिनामा नै किन बढी गर्भाधान भएका होलान् त ? यसको पछाडि संयोग भन्दा बढी मनोविज्ञान र सामाजिक कारण रहेको विज्ञहरूको तर्क छ ।
मंसीर महिनामा कतिपय विवाह बन्धनमा बाँधिन्छन् । त्यसमध्ये कतिले विवाहलगत्तै सन्तानको योजना बनाउँछन् । डा. सुवेदीका अनुसार कात्तिक महिनाको मध्यतिर महिनावारी भएका महिलाको मंसिर महिनाको सुरुवातमा विवाह हुँदा यौनसम्पर्कपछि बच्चा बस्ने सम्भावना अत्यधिक हुन्छ ।
यस्तै कतिपयले सन्तानको योजना बनाएका हुँदैनन्, तर अप्रत्यासित गर्भ रहन पुग्छ । ढिलो उमेरमा विवाह गरेका दम्पतीले अनिच्छित भए पनि गर्भ फाल्न चाहँदैनन् । यसरी योजनाबद्ध वा संयोगवश गर्भाधान भएका दम्पतीहरूले साउन, भदौ महिनामा बच्चा जन्माउने गरेका छन् ।
असोज, कात्तिक महिनामा नेपालीहरूले मुख्य चाडपर्व मनाउँछन् । चाडपर्वमा पारिवारिक जमघट हुने नै भयो । वैदेशिक रोजगारमा गएका कति युवा घर फर्कन्छन् ।
कतिपय धार्मिक आस्थाको कारण दम्पतीले साउन र भदौ महिनामा बच्चा जन्माउने योजना बनाउँछन् । ज्योतिष शास्त्रअनुसार साउन, भदौ, असोजमा जन्मिएका बच्चा शक्तिशाली, तेजिलो र बुद्धिमानी हुन्छन् भन्ने मान्यताले पनि यिनै महिनामा लक्षित गरेर गर्भधारण गर्ने गरेका चिकित्सकको तर्क छ ।
भुक्तभोगीका अनुसार गर्मीको तुलनामा जाडोयाममा दम्पतीबीच बढी सहवास हुन्छ । एक त जाडो महिनामा रात लामो हुन्छ भने अर्को चाहिं जाडोको कारण दम्पतीहरू एकआपसमा बढी निकट हुन पुग्छन् । शारीरिक सम्बन्धका लागि यो एक अनुकूल याम मानिन्छ ।