महिनावारीमा किशोरी तथा महिलालाई तल्लो पेट दुख्ने, कम्मर दुख्ने, झर्को लाग्ने, शरीर कमजोर भएको अनुभव हुने र खुट्टा समेत दुख्न सक्छ । कतिपयलाई साताको चार दिन नै बेड रेस्ट गर्नुपर्ने हुन्छ । यो समस्यालाई चिकित्सकीय भाषामा ‘डिस्मेनोरिया’ र बोलीचालीको भाषामा महिनावारी पीडा भन्ने गरिन्छ । डिस्मेनोरिया प्राइमरी र सेकेण्डरी गरी दुई प्रकारका हुन्छन् ।
प्राथमिक डिस्मेनोरिया
महिनावारी हुँदा प्रत्येक महिना प्राइमरी डिस्मेनोरियाको लक्षण देखिन सक्छ, जुन सामान्य हो । महिनावारी पीडा महिनावारी भएको दुई दिनसम्म रह्न सक्छ । यो समयमा मध्यमदेखि गम्भीर खालको तल्लो पेट दुख्ने, कम्मर र तिघ्रा दुखेको अनुभव हुनसक्छ । यो समस्याबाट ५० प्रतिशत महिला प्रभावित छन् । जसमा १० प्रतिशतमा प्राथमिक डिस्मेनोरिया गम्भीर खालको हुनसक्छ । जुन उमेर बढेसँगै पीडा कम हुँदै जान्छन् ।
देखिने लक्षणहरु
यो लक्षण सबैमा देखिन्छ भन्ने हुँदैन । कसैमा कुनै दुखाइको अनुभव नहुन पनि सक्छ भने कसैमा अत्यधिक पीडादेखि हल्का दुखाइ हुनसक्छ । यो समस्या हुनुको पछाडि प्रोस्टाग्लाडिन भन्ने हर्मोनको भुमिका हुन्छ । यो हर्मोन महिनावारी भएसँगै उच्च रुपमा बढ्छ । यसको उच्च स्तरले पाठेघरलाई खुम्चाउँछ । जसकारण त्यस वरपर रहेका रक्तनलीमा दबाब पर्छ । यो प्रक्रियामा रगत प्रवाहमा कमी आई पाठेघर र त्यस वरपर रहेको क्षेत्रमा दुखाइ बढ्न सक्छ । यही कारणले गर्दा कहिलेकाहीं अत्यधिक रक्तस्राव पनि हुने गर्छ ।
दुखाइबाट राहत पाउन के गर्ने ?
यो समस्याको घरेलु उपचार त छैन । यस्तो समयमा दुखाइबाट राहत पाउन हट वाटर ब्यागले सेक्ने, झोलिलो खानेकुरा खाने, दुखेको ठाउँमा मसाज गर्ने, आराम गर्ने, क्याफिन भएका खानेकुरा नखाने गर्दा यो समस्या कम हुनसक्छ ।
सेकेन्डरी डिस्मेनोरिया
विगतको महिनावारी भन्दा असामान्य रुपमा पेट दुखाइ हुन्छ । जुन चार दिनसम्मै रहन्छ । दुखाइसँगै अत्यधिक रक्तस्राव हुने, कम्मर तथा ढाड दुख्ने पनि हुन्छ । यस्तो असामान्य रुपमा र गम्भीर पीडा सेकेन्डरी खालको डिस्मेनोरियामा हुन्छ । यस्तो अवस्थालाई सामान्य मान्न सकिंदैन । यो भनेको पाठेघरमा कुनै गम्भीर समस्या हुनसक्ने संकेत पनि हो । जसमध्ये ईन्डोमेट्रियोसिस पनि एक हो । पाठेघरको भित्री तहलाई ईन्डोमेट्रियम भनिन्छ । तर यो अनावश्यक रुपमा पाठेघरको बाहिर बढ्न थाल्यो भने यसलाई ईन्डोमेट्रियोसिस भनिन्छ । यो समस्याले गर्दा महिनावारी हुनुपूर्व र महिनावारीको क्रममा अत्यधिक रक्तस्राव, कम्मर तथा ढाड र पेट दुखाइ हुनसक्छ । त्यस्तै, अर्को कारण भनेको पाठेघरमा मासु पलाएको भएको अवस्था (फाइब्रोइड), एडेनोमाइसिस (पाठेघरमा ईन्डोमेट्रियल तन्तु गएर बसेको अवस्था) र पेल्भिक इन्फ्लामेटरी रोग (माथिल्लो स्त्री जननेन्द्रियको संक्रमण) भएमा पनि यो समस्या हुनसक्छ ।