Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

रामगोपालपुर २का वडाध्यक्ष यादवको मृत्यु ‘रहस्यमय’

उनीसंगै होटलमा बसेका थिए २ युवती र ३ पुरुष





जनकपुरधाम ।
महोत्तरीको रामगोपालपुर नगरपालिका– २ का वडाध्यक्ष मुकेश यादवको मृत्युलाई माओवादी केन्द्रले रहस्यमय दाबी गर्दै घटनाको गहिरो अनुसन्धान गर्न माग गरेको छ । ३५ वर्षीय यादवको आइतबार बिहान महोत्तरीको बर्दिबास नगरपालिका–८ को सडक छेउमा मोटरसाइकलसँगै शव फेला परेको थियो ।
यादवको शवको टिचिङ अस्पताल काठमाडौँमा पोस्टमार्टम गरिएको छ । पोस्टमार्टमपछि सोमबार साँझ गाउँमै लगेर यादवको शवको अन्त्यष्टिसमेत भइसकेको छ । माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खड्काले यादवको मृत्यु सामान्य मोटरसाइकल दुर्घटनाबाट मात्रै नभएको दाबी गरे । ‘घटनाको प्रकृति हेर्दा त्यो दुर्घटना स्वाभाविक देखिँदैन,’ खड्काले भने, ‘हामीले महोत्तरी प्रहरीसँग घटनाको गहिरो छानविन गर्न माग गरेका छौँ ।’
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक नकुल पोखरेलले घटनाको सुक्ष्म ढंगले अनुसन्धान भइरहेको बताए । उनले घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामा नै यादवको मृत्यु भएको जस्तो देखिने तर्क गरे ।
‘घटनाको प्रकृति हेर्दा मोटरसाइकल दुर्घटनामै उहाँको मृत्यु भएको जस्तो देखिन्छ,’ पोखरेलले भने, ‘तर, दुर्घटना कसरी भयो भनेर हामी अनुसन्धान गर्दै छौँ । घटनास्थलमै कुकुर लगेर पनि हामीले अनुसन्धान गरेका छौँ । पोस्टमार्टम रिपोर्ट आएपछि धेरै विषय खुल्दै जाला ।’
बर्दिबास नगरपालिका– ८मा पर्ने बर्दिबास– जलेश्वर सडक खण्डको कल्भर्टमुनी आइतबार बिहान यादवको शव फेला परेको थियो । घटनास्थल नजिकै यादव सवार लु प्र ०१–००१प ६३६२ नम्बरको मोटरसाइकल पनि भेटिएको थियो ।
वडाध्यक्ष यादव गएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट रामगोपालपुर नगरपालिका २ को वडाध्यक्षमा निर्वाचित भएका थिए ।
रामगोपालपुरका स्थानीयवासीसमेत रहेका माओवादी नेता तथा पूर्व सभासद लालेन्द्र मण्डलले वडाध्यक्ष यादवको मृत्युलाई स्वाभाविक मान्न नसकिने दाबी गरे ।
‘म आइतबार बिहान प्रहरीसँगै घटनास्थलमा गएको थिएँ । जुन ठाउँमा घटना भएको छ, त्यो ठाउँमा बाइक ‘एक्सिडेन्ट’ भएको जस्तो देखिँदैन,’ मण्डलले भने, ‘त्यहाँको सबै प्रकृति हेर्दा दुर्घटना सुनियोजित जस्तो लाग्छ । घटना भएको सयम पनि यकिन छैन । सीसीटीभी फुटेज हेर्दा शनिबार दिउँसो बर्दिबासका दुई होटलमा वडाध्यक्ष यादवसँगै देखिएका अन्य चारजनाको गतिविधि पनि शंकास्पद देखिन्छ ।’
घटना हुँदा कसिलो गरी लगाएका गोल्डस्टार जुत्ता खुट्टामा नहुनु, तर मृतकको शरीरमा पनि ठूलो चोटपटक नदेखिनुले घटनामा शंका गर्ने धेरै आधार रहेको दाबी उनले गरे । उनले दुर्घटनाजस्तो देखाउन मोटरसाइकलमा कुनै गह्रौ बस्तुले प्रहार गरेको जस्तो देखिने तर्कसमेत गरे ।
घटनाअघि वडाध्यक्ष यादवसँगै अन्य चारजना शनिबार दिउँसो बर्दिवासका दुईवटा होटलमा बसेको प्रहरी अनुसन्धानले देखाएको छ । तर, ती चारजना को थिए खुलेको छैन ।
‘शनिबार दिउँसोदेखि रातिसम्म बर्दिबासका दुईवटा होटलमा उनीहरु खाजा खाएर बसेको देखिन्छ, जहाँ दुईजना युवती पनि छन्,’ माओवादी नेता मण्डलले भने, ‘सीसीटीभी फुटेज हेर्दा त्यहाँ उनीहरुबीच वादविवाद भएको देखिन्छ । हामीले ती चारजनालाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीलाई भनेका छौँ ।’
दिउँसो बर्दिबासको होटलमा देखिएका यादव कतिबेला घर गए खुलेको छैन । दुर्घटना भएको यकिन समय पनि प्रहरीले सार्वजनिक गरेको छैन । तर, घटनाको प्रकृति हेर्दा बर्दिबासबाट शनिबार राति रामगोपालपुरतिर जाँदै गर्दा मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिने जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
उनी एक्लै मोटरसाइकलमा गएका थिए कि मोटरसाइकलको पछाडि अन्य कोही थियो, खुलेको छैन । तर, माओवादी नेता मण्डलले भने यादवले चलाएको मोटरसाइको पछाडी अर्को व्यक्ति पनि सवार रहेको दाबी गरेका छन् । ‘घटनास्थलमा कुकुरले पनि त्यसको संकेत गरेको छ, त्यो को थियो, प्रहरीले खोजी गरोस्,’ उनले भने ।