जनकपुरधाम
भगवान कृष्ण जन्मोत्सवको धूम जनकपुरधाम क्षेत्रमा देख्न सकिन्छ । एकातिर कृष्ण मन्दिरमा पूजागर्नेहरुको भीड रहेको छ भने आफ्ना वालवालिकालाई घरघरमा राधा कृष्ण वनाएर सजाएको पनि देख्न सकिन्छ । ‘हामी चाहन्छौ हाम्रो छोरा छोरीलाई भगवान कृष्ण जस्तै संस्कार होस,’ जनकपुरधाम ४ का मोहनी देवीले वताइन । उनले यसै उद्देश्यले आफना सात वर्षिय छोरालाई कृष्ण जस्तै सजाएका छन ।
घर घरमा कृष्णको भजनहरु बजिरहेको छ । कोही नाँचेर भजनमा संगदिइरहेका छन भने कोही भजन गाएर । आज कसैको अवतार भइरहेको वातवरणीय स्थिति वताइरहेको छ । सामाजिक सञ्जालहरुमा राधाकृष्णको तस्वीरले पोतिएको छ । सबै एकअर्कालाई यस अवसरमा शुभकामना दिइरहेका छन ।
हिन्दू धर्म शास्त्रका अनुसार भगवान विष्णुको दश मुख्य अवतारहरू मध्येको एक अवतार कृष्णलाई मानिन्छन् । मिथिलाका ज्वाई भगवान रामपनि विष्णुकै अवतार भएका कारण कृष्णलाई ज्वाईसरह नै मान्ने परम्परा रहेको छ । जनकपुरधामको प्रसिद्ध धार्मिक स्थल जानकी मन्दिरमा मंगलवारदेखि ६ दिनसम्म रामजानकीलाई झुलामा झुलाउने परम्परापनि यसकै कडी रहेको जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले वताए ।
श्रीकृष्णजन्माष्टमी प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीमा पर्छ । संसार र धर्मको रक्षाका लागि तथा द्वापर युगमा बढ्दै गरेको आसुरी प्रवृत्तिको विनाश तथा सज्जनहरूको रक्षा गरी सनातन धर्मको संरक्षणका लागि भगवान् श्रीकृष्णको अवतरण यस पृथ्वीमा भएको हो । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले आफ्नो अवतारको प्रयोजन आफैँ बताउँछन्
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।
अर्थात् जब–जब यस धर्तीमा धर्ममाथि आँच आउँछ म धर्म रक्षाका निम्ति अवतरित हुन्छु । साधु सन्त जनहरूको रक्षा र दुर्जनहरूको संहारको लागि म अनन्त कालसम्म पुनः पुनः जन्मिरहन्छु ।
हिन्दू धार्मिक ग्रन्थका अनुसार भगवान श्रीकृष्णको जन्म द्वापरांतमा भएको पाईएको छ । यो हिसाबले श्रीकृष्णको जन्म कलीयुगको आगमन भन्दा ५०० देखि १ हजार बर्षको बीचमा भएको अनुमान गर्न सकिन्छ । हिन्दू पञ्चाङ्गका अनुसार २१औँ शताब्दीको सुरुमा कलियुगको आयु ५१०० वर्ष तोकिएको छ । भगवान श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरावासी वसुदेवकी धर्मपत्नी देवकीको गर्भबाट राजा कंशको जेल भित्र भएको थियो । देवकी राजा कंशकी बहिनी थिईन् । उनीहरू दूवै भाइ बहिनीहरू तत्कालीन मथुराका राजा उग्रसेनका सन्तान थिए ।
भगवान श्री कृष्णको जन्म आधुनिक भारतको मथुरा शहरमा भएको थियो । श्रीकृष्णलाई जन्मिएकै घडी कंशबाट बचाउन उनका पिता वसुदेवले गोकुलवासी नन्द गोपका घरमा छोडेका थिए । त्यसैले श्रीकृष्णको बाल्यकाल नन्द गोपका घरमा बितेकाले उनलाई गोपाल तथा नन्दलाल नामले पनि जानिन्छ । श्रीकृष्णका एक दाजु बलराम नन्द गोपालका सुपुत्र थिए ।
भाद्र कृष्ण अष्टमीको आधी रातमा जेलमा आठौं गर्भ जन्माउनका लागि थुनिएकी देवकीबाट उनको जन्म भएको हो । तर उनको गर्भलाई सामान्य गर्भ मानिंदैन । श्रीकृष्णको जन्म हुनु धेरै अघि आठौं गर्भको रुपमा धराको अन्याय र अत्याचार नाश गर्न ईश्वरको अवतार हुने आकाशवाणी भएको घटना भागवत कथामा उल्लेख छ ।
आठौं गर्भ ज्यादै विशेष भएकोले सातौं गर्भमा त्यसको पूर्व तैयारी गरिएको थियो । तर पछि त्यस गर्भलाई ईश्वरीय विधिले रोहिणीको गर्भमा बलरामको रुपमा स्थानान्तरण गरिएको थियो । कृष्णलाई यशोदाको गर्भको बालिकासंग साटिएको थियो । वास्तविक जन्मको रुपमा कृष्णलाई आठौं गर्भ भन्न मिल्दैन तर एउटी बालिकाको बलिदान समेतलाई हिसाब गर्दा उनी आठौं नै हुन्छन् । यसरी भगवान कृष्ण एक असाधारण गर्भ र असाधारण जन्म थिए । उनले जन्मलिनु अघि देवकी र वसुदेवलाई चतुर्भुज स्वरुपमा दर्शन दिएको कथा भागवतमा उल्लेख छ ।
जन्म हुना साथ आमाको दूध मुखमा राख्न नपाइ छुट्टिनु परेको घटनालाई ध्यान दिने हो भने कुनै पनि दूध खाने बालकलाई यो भन्दा दुर्भाग्यको घटना अर्को हुन सक्दैन । जुन बालक जन्मनु अघि असुरक्षित छ र जन्मि सकेपछि पनि निरन्तर असुरक्षित छ उसको जीवनको संघर्षको जटिलतालाई शब्दमा बयान गर्न नसकिने नेपाली र मैथिलीका वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमल वताउनुहुन्छ ।
जीवनका भयंकर असुरक्षित क्षणहरुलाई नाचेर, गाएर, अत्यन्त हलुका रुपमा लिएर, अर्काको घरमा आफ्नो घरमा भन्दा प्रिय वातावरण बनाएर हुर्कने बच्चाको असाधारण क्षमतालाई सामान्य मानवको आंखाले हेर्न सकिंदैन उहाँको कथन रहेको छ ।
ईश्वरीय शक्तिको रुपमा भगवान श्रीकृष्णको पूजा आर्यावर्तमा करिब ५०० वि.पू. प्रारम्भ भइसकेका प्रमाणहरु भ्ेटिन्छन् । ऋग्वेदमा लेखिएको छ– एक यस्तो गोठालो जो कहिल्यै च्युत हुँदैन, मित्रवत् छ, सुन्दर वस्त्रले सजिएको छ । र यो समय समयमा पृथ्वीमा अवतरित भइरहन्छ । (ऋग्वेद १.२२.१६४) निश्चित रुपमा यो वर्णन भगवान श्रीकृष्णसंग नै सम्बन्धित छ । एक भेडागाठालोको रुपमा सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ भगवान श्रीकृष्णको रुप मुरलीधर र गाईगोठालोको रुपमा नै सुन्दरतम रुपमा अभिव्यक्त हुन्छ । संभवतः उनको नाम गोपाल राख्नुको पछाडि यही दर्शनले काम गरेको छ । गोपालको अर्थ हुन्छ गाईको रेखदेख गर्ने र गोविन्दको अर्थ हुन्छ गाईको खोजी गर्ने । यी सबै घटनाले श्रीकृष्णको गाई प्रेम व्यक्त गर्छ । छान्दोग्य उपानिषद (९०० वि.सं. पूर्व) मा देवकीपुत्रको ससम्मान उल्लेख छ । पाणिनी अष्टाध्यायी (वि.सं. ५०० शताब्दी पूर्व), अर्जुन, र वासुदेवको सम्मानपूर्ण अभिलेख छ । कौटिलीय अर्थशास्त्र (३०० वि.सं. पू.) श्रीकृष्ण र द्वैपायनको उल्लेख हुनुका साथै दुर्योधनले गरेका गलतीहरुको उल्लेख छ । कृष्णलाई विशेष पूजित व्यक्तित्वको रुपमा संकेत गरिएको छ । पातञ्जली महाभाष्य (१५० वि.सं. पूं) मा कृष्ण र अर्जुन दुवै पूजाका विशेष अधिकारी पात्र छन् भनिएको छ । ऋग्वेदमा उल्लेख गरे अनुसार नै भगवान् कृष्णको रङ्ग कालो थियो, गोपालक थिए र अंशुमती (यमुना) नदी को किनारमा निवास गर्थे र गोबर्धन गुफा आश्रयस्थल थियो । यसै गरेर ऋग्वेदकै एक छन्दमा भगवान् श्रीकृष्णलाई गोउद्धारक र गोस्वामी उल्लेख गरिएको छ ।
ऐतिहासिक अध्ययनको आधारमा भगवान् श्रीकृष्णको जन्म ई.पू. १५०० मानिन्छ । भगवान् श्रीकृष्ण लगभग १०० वर्षको आयु भन्दा केही अधिक वर्ष जीवित रहे । मोहनजोदाडो उत्खनन गर्दा एक भितेचित्रमा दुई बृक्षको बिचमा एक बालक उभिएको चित्र भेटिएको थियो । यस चित्रलाई भगवान् कृष्णद्वारा यमलार्जुनको उद्धारको कथासँग जोडेर हेर्ने हो भने भगवान् कृष्णको जन्म ३१०२ देखि ४५०० ई.पू.लाई मान्न सकिन्छ ।
पुरातात्विक आधारमा भगवान् श्रीकृष्णले प्रयोग गर्ने हतियार चक्रलाई लिन सकिन्छ । चक्रलाई अत्यन्त धारयुक्त पारम्परिक हतियारका मानिन्छ र बुद्ध युगभन्दा अगाडि नै यसको प्रयोग बन्द भएको थियो ।
महाभारत र भागवतको विवरण अनुसार श्रीकृष्णलाई सर्वप्रथम ईश्वरुपमा पहिचान गर्ने एक दृष्टिविहीन गोठालो साथी थियो । यशोदालाई पटक पटक त्यो रुप देखाउंदा पनि उनले बुझ्नै सकिनन् । गोपिनीहरुले उनको प्रेमी रुपलाई नै प्रधान मानेका थिए । उद्धव, भीष्म, विदुरले उनको अवतार रुपमै जानेका थिए । भीष्मले यसैका लागि विष्णुसहस्रनाम रचना गरे । दुर्योधन र अर्जुन दुवैले श्रीकृष्णको विराट रुप वा विश्वरुप देखेका थिए तर दुर्योधनले त्यसलाई नौटंकी ठान्यो भने अर्जुनले त्यस रुपको दर्शन पछि ईश्वर भन्ने कुरा थाहा पाइ श्रीकृष्णको आज्ञा पालन गरे । भगवान श्रीकृष्णले गोकुल, वृन्दावन र ब्रजमा रहँदा कैयोँ बाल लिला रचाएका थिए । कहिले कसैका घरको मखन चोरी खाएका थिए त कहिले गोठालाहरूसँग वनमा गाई चराउन गएका थिए । कहिले राधादी गोपिनीसँग रासलिला गरेका थिए त कहिले माता यशोदालाई भए नभएका माँगहरू राखेर दिक्क पारेका थिए । कहिल्यै पुतना, बत्सासुर, बकासुर, प्रलम्बासुर, केशी आदी ठूला ठूला वीर असुरहरूको बध गरेका थिए त कहिल्यै गोबर्धन पर्वत धारण जस्ता अनेको बाल लिला देखाएका थिए ।
भगवान कृष्णका यी मन्त्रहरुले सिद्धी प्राप्त गर्न सकिन्छ । पहिलो मन्त्र ‘ॐ कृष्णाय वासुदेवाय हरये परमात्मने ।। प्रणतः क्लेशनाशाय गोविंदाय नमो नमः ।।’
दोस्रो मन्त्र ‘ ॐ नमः भगवते वासुदेवाय कृष्णाय क्लेशनाशाय गोविंदाय नमो नमः ।’ तेस्रो मन्त्र ‘हरे कृष्ण हरे कृष्ण, कृष्ण–कृष्ण हरे हरे। हरे राम हरे राम, राम–राम हरे हरे ।’
सोह्र कलाका ज्ञाता
वेद तथा उपनिषदका अनुसार १६ कलायुक्त व्यक्ति ईश्वरतुल्य हुन्छ । भगवान् रामको बारेमा भन्दा उनी बाह्रकलाका ज्ञाता मात्र थिए तर भगवान् श्रीकृष्ण सोह्र कलाकै ज्ञाता थिए । औँशिदेखि पूर्णीमासम्म चन्द्रमाको १६वटा स्वरूप वा अवस्था अमृत, मनदा, पुष्पा, पुष्टि, तुष्टि, ध्रुति, शाशनी, चन्द्रिका, कान्ति, ज्योत्सना, श्री, प्रीती, अंगदा, पूर्ण पूर्णामृत (पुर्णिमा) मा प्रकट हुन्छ या देखिन्छ । यसैलाई चन्द्रमाको सोह्रकला भनिन्छ । यसै गरेर मानिसको मनमा विद्यमान प्रकाशलाई चन्द्रमा समान मानिएको छ, जसको अवस्था घटने बढने भइरहन्छ । मानिसको प्रत्यक्ष गोचर हुने अवस्थाहरु जाग्रत, स्वप्न या सुषुप्ति गरी तीन प्रकारका छन् । यिनै तीन अवस्था मात्र मानिसलाई बोध हुन्छ जानकारहरु बताउँछन् ।
यस बाहेकका अवस्थाहरुको मानिसलाई बोध हुनको लागि ध्यान या योगको आश्रय लिनु जरुरी भए पनि प्रत्येक मानिसमा यी १६ कलाहरु सुप्त आवस्थामा रहन्छन् । बोध प्राप्त योगीको भिन्नभिन्न १६ अवस्थालाई नै यहाँ सोह्रकला भनिएको हो । औँशिलाई अज्ञानको प्रतीक मानेर पूर्णिमालाई पूर्णज्ञानको आधारमा हेर्ने हो भने यहाँ प्रकाशको १५ अवस्था र औँशीको एक अवस्था गरेर १६ अवस्थाको बोध हुन्छ । जो व्यक्ति मन र मस्तिष्कबाट अलग भएर बोध गर्ने शक्ति राख्दछ उसैले सोह्र कलामा ज्ञान हासिल गर्न सक्दछ । भगवान् कृष्ण यी सौह्रै कलाका ज्ञाता थिए । विभिन्न शास्त्रले यी सोह्र कलालाई विभिन्न नाम दिएका छन् यिनमा प्रमुख केही नामहरू यस प्रकार रहेका छन् ।
अन्नमया, प्राणमया, मनोमया, बिज्ञानमया, आनन्दमया, अतिशयिनी, बिपरिनाभिमी, संक्रमिणी, प्रभावी, कुंथिनी, बिकासिनी, मर्या्दिदनी, सन्हालादिनी, अह्लादिनी, परिपूर्ण, स्वरुपवस्तित श्री, भू, कीर्ति, इला, लीला, कान्ति, बिद्या, विमला, उत्कर्शिनी, ज्ञान, क्रिया, योग, प्रहवि, सत्य, इसना, अनुग्रह प्राण, श्रधा, आकाश, वायु, तेज, जल, पृथ्वी, इन्दिय, मन, अन्न, वीर्य, तप, मन्त्र, कर्म, लोक, नाम माथि दिइएका सोह्र कलाको नामहरुलाई अध्ययन गर्दा यी सबै हाम्रो मन र मस्तिष्कका अवस्थाहरु जस्तै विक्षित, क्षित, कुमति, सुमति, मुर्छित जाग्रत,मूढ, चैतन्य आदि अवस्थाहरु भन्दा पृथक् अवस्थाहरु हुन । मन र मस्तिष्कबाट अलग रहेर यिनै अवस्थाहरुको पूर्ण बोध गर्नु नै सोह्रकला युक्त हुनु हो ।
बुद्धि निश्चयात्मक हुन्छ, अनेक जन्मका बारेमा ज्ञात हुन्छ, चिततवृत्ति नष्ट हुन्छ, अहङ्कार नष्ट हुन्छ, संकल्प विकल्प नष्ट भएर स्वस्वरुपको बोध हुन्छ, आकाशतत्वमा पूर्ण नियन्त्रण भएर वाक्य सिद्धि हुन्छ, वायुतत्वमा पूर्ण नियन्त्रण भएर स्पर्श मात्रले रोगमुक्त गर्न सक्छन्, अग्नितत्वमा पूर्ण नियन्त्रण भएर दृष्टि मात्रले कल्याण गर्ने शक्ति उत्पन्न हुन्छ, जलतत्वमा पूर्ण नियन्त्रण भएर जल बाधा नष्ट हुन्छ, पृथ्वीतत्वमा पूर्ण नियन्त्रण भएर भोक, प्यास निन्दाहिन भएर देहबाट सुगन्ध प्रष्फुटित हुन्छ, जन्म, मृत्यु र स्थिति अधिनस्थ हुन्छन्, भूत, वर्तमान र भविष्य द्रष्टा भएर सबैमा नियन्त्रण प्रतिस्थापन भएर जड चेतन इच्छानुकुल कार्य गर्छन्, समयमा नियन्त्रण भएर देह वृद्धि इच्छानुसार हुन्छ, सर्वव्यापी भएर भएर एक साथ अनेक रूपमा प्रकट हुन सक्छन्, कारणको पनि कारण हुन्छन् । यसलाई अव्यक्त भनिन्छ, स्वेच्छाले अवतार (जन्म) लिन सक्छन् । यसलाई उत्तरायण कला पनि भनिन्छ ।
माथि उल्लेख गरिएका कलाहरुलाई ध्यान दिएर अध्ययन गर्ने हो भने योगेश्वर श्रीकृष्णले कतिपय अवस्थामा यस कलाको प्रयोग गरेको दृष्टान्त पाउन सकिन्छ । उदाहरणका लागि, अश्वत्थामालाई श्राप दिनसक्ने आधार वाक्य सिद्धि हो । समयमा नियन्त्रण गर्न सक्ने कला भएकोले नै मध्य लडाइँमा समय रोकेर अर्जुनलाई गीता ज्ञान दिन सके । युद्ध मैदानमा विराट रूपको दर्शन दुर्वासाको क्रोधबाट बचाउन भाँडोमा उब्रेको एक सिता भात खान प्रकट हुनु र दौपदीको चीरहरणमा उनको रक्षा गर्नु सर्वव्यापि हुन सक्ने कलामा पारंगत भएर नै हो । सोह्र कलायुक्त व्यक्तिलाई निर्गुण सगुण स्थितिको सुस्पष्ट बोध हुनेभएकोले व्यक्त अव्यक्त सबै कलामा पारंगत हुन्छन् । भगवान् श्रीकृष्ण यी सबै सोह्रकला युक्त व्यक्ति भएकाले नै उहाँमा दिव्यता थियो । चमत्कारका र मायाका कथाहरू भन्दा पनि योगद्वारा प्राप्त सिद्धि र यस सिद्धि भन्दा पनि पर जगत (ब्रह्माण्डा) को ज्ञान को चर्चा उनले गीतामा गरेका छन् ।
राधाको चरित्र
राधा जसलाई राधीका, राधे, अदी नामले पनि चिनिन्छ भगवान श्री कृष्णकी बाल्यकालकी सखा थिईन् भगवान श्रीकृष्णले राधाजीको सँग निकुञ्ज वन र वृन्दावन हजारौ लिला रचाएका थिए । राधा ब्रज निवासी भृषभानु नामका गोपकी छोरी थिईन् उनकी आमाको नाम कृती थियो । राधाको जन्म पनि कृष्ण जन्मेकै वर्ष राधा अष्टमीका दिन भएको थियो । राधालाई लक्ष्मीको अवतार मानिएको छ । कृष्णको मुरलीको धुन सुन्ने बित्तीकै राधाजी घरका सबै कामहरू छोडेर त्यतै जाने गर्थीन् । राधा कृष्णमा मोहीत थिईन् भने कृष्ण राधामा मोहीत थिए । राधा जी सँधै गोठमा गाई दुहनजाँदा कृष्णलाई बोलाउने गर्थिन् । एकदिन श्रीकृष्णलाई राधाको गोठबाट जान लाग्दा राधीकाकी सखिहरूले देखिन् । तब राधीकालाई जिस्काउ लागिन् यो देखेर राधीका आफुलाई सर्पले टोकेको बहाना गरेर बेहोस भइन् । राधीकाका सखीहरूले उनलाई कृती भए ठाउँ पुराए । यसरी राधीका बेहोस भएकी देखेर कृतीले आतिदै राधाका सखीहरूसँग राधा कसरी बेहोस भईन् भनेर सोधिन् । सखीहरूले राधा बेहोस हुँदा सर्पले टोकेको कुरा गर्थिन् भने तब कृतीले गाउँका सबै वैद्यहरूलाई बोलाईन् सबैले झारफुक इत्यादी गरे तर राधाको होस आएन । त्यस पछि एक राधीकाकी एक सखीले अनुमान लगाएर श्रीकृष्णले सर्पको टोकाई निको पार्छन् भनिन् यो सुनेर कृती आफै कृष्ण भए ठाउँ गएर कृष्णलाई बोलाएर ल्याइन् । कृष्णले अलिकती पानी हातमा लगेर मन्त्र पढे झैँ गरी राधाको मुखमा छिँटा मारेर आफु मुरली बजाउन लागे । मुरलीको धुन सुन्दै राधालाई होस् आयो । मिलको लागि आमाहरूलाई ठगेर यस्तै खाले लिलाहरू राधा र कृष्ण गरीरहेको प्रसस्त कथाहरु रहेको छ ।
जनकपुरधाम क्षेत्रमा पूजा
जनकपुरधाम क्षेत्रमा राधाकृष्णको मन्दिर हुँदा पनि सयो स्थानमा राधा कृष्णको मूर्ति वनाएर पूजा गर्ने चलन रहेको छ । जनकपुरधाम उपमहानगरपालिकामा मात्रै दूई दर्जन स्थानमा मूर्ति वनाएर पूजा भइरहेको छ । मूख्यपूजा आजराती १२ बजेहुन्छ भने मेला भोलि मंगलवार हुने छ । कृष्णको पूजा हुनेस्थलमा ठूलो मेला लाग्ने गरिएको छ । जनकपुरधामको रेल्वे स्टेशन चोकमा गत ५६ वर्षदेखि कृष्ण जन्मोत्सव भूमधामका साथ मनाउने गरिन्छ । यसपालीपनि ठूलो पण्डालमा राधाकृष्णको भव्य मूर्ति वनाइएको स्टेशन युवा क्लवका पूर्व अध्यक्ष देवु यादवले वताए । सो स्थलमा महादेव, गणेश, शेषनाग सबैको मूर्ति रहेको छ । सो स्थलमा गत एक महिनादेखि तैयारी भइरहेको छ ।