जनकपुरधाम ।
नेकपा (माओवादी केन्द्र) छाडेर उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका रामकुमार शर्मा सो पार्टीको महासचिव बनेका छन् । जसपाले पदाधिकारी चयन गर्दा शर्मालाई महासचिव बनाएको हो । शर्मासँगै मधेस प्रदेसका पूर्वमुख्यमन्त्री लालबाबु राउत पनि पार्टीको महासचिव चयन भएका छन् । नेता शर्मा र उनकी पत्नी इन्दु शर्मा माओवादी छाडेर गत वैशाख ९ गते जसपामा प्रवेश गरेका थिए ।
शर्मा माओवादी केन्द्रमा हुँदा एकपटक पोलिटब्युरो सदस्य र लामो समय केन्द्रीय सदस्य थिए । इन्दु शर्मा पनि माओवादीबाट सांसद र केन्द्रीय सदस्य बनेकी थिइन् । तर, इन्दु शर्मा भने जसपाको केन्द्रमा परिनन् । गत निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर ३ ‘ख’ मा पाएको टिकट पनि खोसिएपछि रामकुमार शर्मा माओवादी नेतृत्वसँग रुष्ट बनेका थिए ।
सुरुमा माओवादीले शर्मालाई महोत्तरी ३ प्रदेशसभा ‘ख’ को टिकट दिएको थियो । तर, पाँच दलीय गठबन्धनका कारण लोसपालाई महोत्तरी ३ को ‘ख’ क्षेत्र छाड्नुपर्ने भएपछि मनोनयनको दिन उनको टिकट खोसिएको थियो । त्यतिबेलै उनले अब आफू उपेन्द्र यादवको पार्टीमा प्रवेश गर्ने घोषणा नै गरेका थिए । आफूलाई विश्वास गरेर उपेन्द्र यादवले पार्टीको महासचिव बनाएको भन्दै शर्माले प्रसन्नता व्यक्त गरे।