सुजीतकुमार झा
जनकपुरधाम ।
पैसाको चलखेल भइरहेको चर्चाका बीच मुख्यमन्त्री कार्यालयले मधेश प्रदेशका डिएफओहरुको सरुवा गरेको छ । अधिकांश डिएफओले सर्लाही जिल्ला मांगेका थिए । तर महोत्तरीका डिएफओ संतोष झालाई त्यहाँ पठाउने निर्णय गरेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ । सर्लाही जिल्ला आम्दानीका दृष्टिले महत्वपूर्ण मानिने गरिएको छ ।
यसअघिका सरुवाहरुमा कसले कति पैसा लिएको त्यस सम्बन्धमा सबैलाई थाहा हुन्थ्यो तर यसपालीको डिएफओ सरुवामा कति लेनदेन भएको त्यो खुल्न सकेको छैन । हुनत डिएफओका आकांक्षीहरु एकसातादेखि मुख्यमन्त्री कार्यालयमा ओहोरदोहोर गर्दै थिए । सिरहा जिल्लाको डिएफओ कसलाई बनाउने सम्बन्धमा विवाद देखिएको छ ।
स्रोतका अनुसार वन मन्त्री त्रिभुवन साहले सुजीत झालाई हटाएर हेमन्त साहलाई बनाउने दबाब दिदै आएका थिए । नदीबाट बालुगिट्टी ढुवानी गरिरहेकालाई पक्राउ गरेकाले उनीसँग मन्त्री रिसाएका थिए । मन्त्रीको दबाबमा सिरहाबाट सुजीतलाई रौतहट सरुवा गरिएको छ ।
मन्त्री साहले हेमन्तलाई सिरहामा राख्न दबाब दिएपनि मुख्यमन्त्री सतिश सिंहले नमानेपछि त्यहाँ कसैलाई मन्त्री नदिएको बताइएको छ । हेमन्तलाई सिरहामा डिएफओ बनाउन नवलकिशोर साहले पनि भनेका थिए तर मुख्यमन्त्रीको असन्तुष्टिका कारण सिरहा खाली राखिएको छ ।
वन मन्त्रालयका अनुसार महोत्तरीमा अजय मिश्र र वारामा राजिवकुमार झा सरुवा गरिएको र दूबैजनालाई त्यहाँको डिएफओ जिम्मेवारी पनि दिइएको छ । मिश्र र झाले हिजोनै पत्र बुझि सकेको छ । अन्य जिल्लाको सम्बन्धमा मन्त्रालयले केही बनाउन नचाहेपनि मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार धनुषामा विनोद सिंह, महोत्तरीमा अजय मिश्र, सप्तरीमा सुभाष दास, सर्लाहीमा संतोष झा, रौतहटमा सुजीत झा, वारामा राजिवकुमार झा र पर्सामा मन्जुर अहमदलाई पठाइएको छ ।
चार महिना अघि पर्साको डिएफओमा सरुवा गरिएका सुनिल कर्णलाई त्यहाँबाट हटाइ वन अनुसन्धान तथा तालिम केन्द्र सागरनाथ सर्लाहीमा सरुवा गरिएको छ । भने सप्तरीका डिएफओ सुभाष दासलाई सोही जिल्लामा निरन्तरता दिइएको छ ।