जनकपुरधाम ।
मोडेल सेकेन्ड्री स्कुलका विद्यार्थीहरुलाई एक दिने शैक्षिक भ्रमण गराइएको छ । विद्यालयको कक्षा ९ र कक्षा १०का विद्यार्थीहरुले धनुषाधामको ऐतिहासिक धनुष मन्दिर र कल्चरल भिलेजको शैक्षिक भ्रमण गरेका हुन् । विद्यार्थीहरुलाई आफ्नै गाउँठाउँको ऐतिहासिक स्थलको विषयमा जानकारी गराउने उद्देश्यले यो भ्रमण गराइएको शिक्षक रुद्र नारायण ठाकुरले जानकारी दिए ।
कक्षा ९ र कक्षा १०का कुल ४८ विद्यार्थीले धनुष मन्दिरमा त्यहाँका पूजारीसंंग त्यो मन्दिरको ऐतिहासिकताको विषयमा जानकारी लिएका थिए । धनुष मन्दिरका पूजारीले रामायणकालिन इतिहाससंग यो मन्दिरको ऐतिहासिकता जोडिएको विषयमा विद्यार्थीहरुलाई जानकारी गराएका थिए । यसका साथै विद्यार्थीहरुलाई प्रकृति तथा वनस्पतिसंग अभिरुचि जगाउने उद्देश्यले जिल्ला वनस्पति उद्यान केन्द्र धनुषा समेत भ्रमण गराइएको थियो ।
मिथिला संस्कृति तथा मैथिली परम्परासंग आगामी पुस्तालाई जोड्ने अभिप्रायले संचालनमा ल्याइएको कल्चरल भिलेजमा समेत विद्यार्थीहरुले भ्रमण गरेका थिए । भ्रमणको क्रममा विद्यार्थीहरुलाई मिथिलाको लोपोन्मुुख सामाग्रीहरुको विषयमा जानकारी प्राप्त गर्न सहायक साबित भएको थियो ।
यस प्रकारका शैक्षिक मेलाले विद्यार्थीहरुलाई आफ्नै गाउँठाउँको ऐतिहासिकताको विषयमा जानकारी पाउन सहायक साबित हुने गरेको भ्रमणमा विद्यार्थीहरुसंगै सहभागी शिक्षक ठाकुरले बताए । यस प्रकारको अनुभवले विद्यार्थीहरूको ज्ञान विस्तार मात्रै नभई समूहमा काम गर्ने भावना पलाउनुका साथै शिक्षकहरूसँगको सम्बन्धलाई थप मजबुत बनाएको उनले बताए ।