एजेन्सी ।
नासाका अन्तरिक्षयात्री सुनिता विलियम्स र बेरी विल्मोर पृथ्वीबाट करिब ३२० किलोमिटर टाढा अवस्थित इन्टरनेशनल स्पेस स्टेशनमा फसेका छन् । गत जुन महिनाको सुरुआतमा अन्तरिक्षमा पठाइएका यी दुई अमेरिकी अन्तरिक्ष यात्रीहरू केवल आठ दिन मात्र त्यहाँ बिताएर पृथ्वीमा फर्कनुपर्ने थियो । तर, बोइंग स्टारलाइनर अन्तरिक्ष यानमा हिलियम चुहिएका कारणले गर्दा उनीहरूलाई त्यहाँ आठ महिना बस्नुपर्ने भएको छ । नासाले दिएको जानकारी अनुसार उनीहरूलाई २०२५ को फेब्रुअरीमा पृथ्वीमा फर्काइनेछ । पृथ्वीबाट धेरै टाढा अन्तरिक्षमा रहेको स्पेस स्टेशनमा अहिले सुनिता र बेरीसँगै कुल ९ जना अन्तरिक्षयात्री छन् । अन्तरिक्ष स्टेसनमा बस्ने अन्तरिक्ष यात्रीहरुको दिनचर्या कस्तो हुन्छ ? यो बारेमा जान्ने इच्छा सायद सबैको हुन्छ ।
वास्तवमा स्पेस स्टेशनमा जाने र बस्ने कुरा जति रोचक र स्वप्निल लाग्छ, त्यो यथार्थमा त्यति सजिलो छैन । यस्तो हुन्छ अन्तरिक्ष स्टेशनमा बस्नेहरुको दैनिकी ः
रिसाइकल गरेर पिउनुपर्छ आफ्नै पिसाब
बेलायती अन्तरिक्ष यात्री मेगन क्रिश्चियन यूके स्पेस एजेन्सी अन्तरगत अन्तरिक्षमा जाने रिभर्ज टोलीको सदस्य हुन् । उनले द सन लाई बताएअनुसार, अन्तरिक्ष स्टेशनमा बसाइको क्रममा अन्तरिक्ष यात्रीले नुहाउन पाउँदैनन् ।
उनका अनुसार अन्तरिक्ष यात्रीहरूले आफ्नो पिसाबको शुद्धीकरण अर्थात् रिसाइकल गरेर पिउनु पर्छ । साथै, उनीहरूले हानिकारक विकिरणको पनि सामना गर्नुपर्छ । उनी भन्छिन् – हामीले सदैव स्वीकार गर्ने कुरा के हो भने अन्तरिक्ष कठिन स्थान हो ।
सजिलो छैन स्पेस स्टेशनमा बस्न
हाल स्पेस स्टेशनमा नौ जना अन्तरिक्ष यात्रीहरु छन् । उनीहरुले दुईवटा बाथरूम र छ वटा सुत्ने कोठा शेयर गरिरहेका छन् । स्टेशनमा पृथ्वीबाट खाना र पानीको आपूर्ति गरिन्छ, जसलाई अत्यन्तै सावधानीपूर्वक प्रयोग गर्नु आवश्यक हुन्छ । शरीरबाट निस्कने तरल पदार्थ, विशेष गरी पिसाबलाई रिसाइकल गरेर पिउनका लागि प्रयोग गरिन्छ । पसिना र सासबाट निस्कने चिसोपनालाई पनि यस्तै गरेर उपयोग गरिन्छ ।
मेगनका अनुसार स्पेस स्टेशनमा नुहाउनका लागि कुनै बाथरुम छैन । जीउ सफा गर्नका लागि अन्तरिक्ष यात्रीहरूले एक प्रकारको भिजेको टावेल प्रयोग गर्छन् । पृथ्वीको चुम्बकीय क्षेत्रबाट बाहिर बस्नुपर्ने भएकाले त्यहाँ विकिरणको पनि खतरा रहन्छ । गुरुत्वाकर्षण कम भएकाले शरीरका मांसपेशीहरूले धेरै काम गर्न पर्दैन, जसले शरीरलाई हानि पु¥याउन सक्छ । अन्तरिक्षमा हरेक ९० मिनेटमा सूर्य अस्ताउने र उदाउने हुन्छ । त्यसैले अन्तरीक्षयात्रीले उक्त सौर्यचक्रको बानी बसाल्नुपर्छ ।
विशेष प्रकारको शौचालयको प्रयोग
मेगनका अनुसार अन्तरिक्षमा हरेक कुरा सकेसम्म पुनः प्रयोग तथा पुनः चक्रण अर्थात् रिसाइकल गर्नुपर्छ । त्यहाँ हिजो खाएको कफी नै आज खाने कफी हो । यो सुन्दा घिनलाग्दो लाग्नसक्छ । तर, तपाईंको आफ्नै पिसाब पनि रिसाइकल गरेर पिउन लायक शुद्ध पानी बनेको हुन्छ, जुन तपाईंले निर्धक्क पिउन सक्नुहुनछ । उनका अनुसार शौचालयको हकमा चाहिं विशेष प्रकारको सक्शन ट्वाइलेट हुन्छ, जसले दिसापिसाब सहित शरीरको तरल पदार्थहरू संकलन गर्छ ।
अन्तरिक्षमा शौचालयलाई पृथ्वीको जस्तो गरी प्रयोग गर्न सकिंदैन । सूक्ष्म गुरुत्वाकर्षणका कारण हरेक वस्तुहरू अन्तरिक्ष स्टेशनमा तैरिरहेका हुन्छन् । अन्तरिक्ष यात्रीहरूले एउटा नलीमा पिसाब गर्छन्, जसको अगाडि कन्टेनर जोडिएको हुन्छ । दिसा गर्नको लागि एउटा कन्टेनरको माथि सानो शिट हुन्छ, जसमा रबरयुक्त ब्याग जोडिएको हुन्छ ।