एजेन्सी ।
अघिल्लो वर्ष विश्वभर व्याप्त हिंसाबाट विश्वले २० खर्ब डलर क्षति व्यहोरेको संयुक्त राष्ट्रसंघका एक वरिष्ठ अधिकारीले बताएका छन् । ती अधिकारीका अनुसार विश्वभर सैन्य क्षेत्रमा लगानी बढ्दा शान्ति स्थापनामा भने लगानी घटिरहेको छ ।
महासचिव एन्टोनियो गुटेरेसले बुधबारको सुरक्षा परिषद बैठकमा प्रस्तुत गरेको ‘शान्ति स्थापनाको नयाँ एजेण्डा’ माथिको छलफलमा भाग लिने क्रममा संयुक्त राष्ट्रसंघको शान्ति स्थापना सहयोग सम्बन्धी उपमहासचिव एलिजाबेथ स्पीहारले सो जानकारी दिएकी हुन् ।
अगष्ट महिनाका लागि परिषदको अध्यक्षता गरिरहेको देश सिएरा लियोनले आयोजना गरेको बैठकमा उनले भनिन्, ‘शान्ति निर्माणबाट हिंसाको चक्र तोड्न सकिन्छ र सर्वसाधारणका लागि विकास सुनिश्चित गर्न सकिन्छ ।’
उपमहासचिव एलिजाबेथका अनुसार तीन क्षेत्रमा लगानी गरेर यो लक्ष्य हासिल गर्न सकिन्छ । शान्ति स्थापनाका लागि स्वेच्छिक प्रयासलाई बढावा दिएर, सुसंगत सुनिश्चित गरेर र साझेदारी एवम् संशाधनलाई मजबुत बनाएर लक्ष्य हासिल गर्न सकिने उनको भनाइ छ ।
यीमध्ये पहिलो क्षेत्रलाई ध्यान दिँदै उनले शान्तिका लागि नयाँ एजेण्डामा प्रभावकारी रोकथाम एवम् शान्ति निर्माण प्रयास सबैभन्दा अहम् मार्गदर्शक सिद्धान्त हुने बताएकी छन् । यसमा सबै देशले पूर्ण जिम्मेवारी लिनुपर्ने उपमहासचिव एलिजाबेथको भनाइ छ । ‘यसमा विविध आवाज र समाजका सबै वर्गको सहभागिता एवम् आवश्यकता सामेल गर्न बल दिइएको छ ताकि दिगो शान्ति स्थापनामा मद्दत मिलोस्,’ उनले भनिन् ।
यस सन्दर्भमा उनले मध्य अफ्रिकी गणराज्यको उदाहरणसमेत दिइन्, जहाँ संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कोषमार्फत् समुदायका महिला मध्यस्थकर्तालाई बलियो बनाउने कार्यक्रममा सहयोग गरिएको छ । यस अन्तर्गत टकराव रोकथाम र सामुदायिक स्तरमा शान्ति स्थापनामा मद्दत गरिएको छ । उनले भनिन्, ‘समाजलाई संकटमा जानबाट रोक्नका लागि सबैभन्दा राम्रो तरिका हो समावेशी र सतत् विकास । यही कारण शान्तिको नयाँ एजेण्डाले सतत विकासका लागि २०३० कार्यान्वयनमा तीव्रता ल्याउन र असमानता, उपेक्षा एवम् बहिस्कारबाट पार पाउन आह्वान गरेको छ ।’
उनले विश्वभर सैन्य खर्च बढिरहेको र शान्ति स्थापनाका लागि लगानी घटिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनका अनुसार गत वर्ष आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) देशको अनुपात १० प्रतिशत थियो जुन विगत १५ वर्षयताको रेकर्डमा दर्ज सबैभन्दा कम हो । उपमहासचिव एलिजावेथले भनिन्, ‘अध्ययन अनुसार यही अवधिमा गत वर्ष नै हिंसाबाट विश्वलाई करिब २० खर्ब डलर क्षति भयो, जुन विश्वको सकल घरेलु उत्पादनको १३.५ प्रतिशत हिस्सा हो ।’
यो अवस्थामा संयुक्त राष्ट्र संघ, विश्व बैंक, क्षेत्रीय विकास बैंक र सबै अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरुबीच अझै बढी साझेदारी गर्न आवश्यक रहेकोमा उनले जोड दिएकी छन् ।
छलफलमा सिएरा लियोनको शान्ति र राष्ट्रिय एकताका लागि स्थापना गरिएको स्वतन्त्र आयोग (क्ष्ऋएल्ऋ) का कार्यकारी सचिव हवा समाईले २२ वर्षअघिको क्रूर गृहयुद्धदेखि वर्तमानको शान्ति स्थापनासम्मको सिएरा लियोनको यात्रा आशाको किरण भएको उल्लेख गरिन् । प्रतिबद्धता संवाद, समावेशी शान्ति स्थापनाको शक्तिबाट सिएरा लियोनमा शान्ति स्थापना सम्भव भएको उनको भनाइ छ ।
सन् २०२० मा संघर्ष रोक्नका लागि यो आयोग गठन गरिएको थियो । आयोगले सिएरा लियोनका सबै १६ जिल्लामा शान्ति सन्जाल गठन गरिएको थियो । उनले भनिन्, ‘विविध पृष्ठभूमिमा स्थानीयलाई यसमा सामेल गरेर आयोगले शान्ति स्थापनाको प्रयास थालिएको थियो ।’
यसबाट समुदायले नै जिम्मेवारी लिएर द्वन्द्व रोकथाम गर्न सक्छन् भन्ने पाठ सिकेको बताउँदै उनले भनिन्, ‘त्यसका लागि सबै सरोकारवाला पक्षबीच विश्वास कायम राख्न मुद्दालाई राजनीतिकरण हुनबाट रोक्नु धेरै महत्वपूर्ण छ ।’