जनकपुरधाम ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।
रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको बताउँदै यसबारेमा सरकार गम्भिर नभएको उनले बताए ।
‘मधेसको बिद्यालयमा बिद्यार्थीको चाप बढी छ । तर विधार्थीको अनुपातमा यहाँ शिक्षकको व्यवस्था सरकारले गरेको छैन । विधार्थीको अनुपातमा यहाँ बिषयगत र तहगत शिक्षकको व्यवस्था गराउँन सरकारको हामीले पटक पटक ध्यानाकर्षण गरायौं तर सरकार गम्भिर छैन्’ आजपा अध्यक्ष साहले भने, ‘अब यस्तै हुने र यसैगरी चल्ने अवस्था भएन् । हामी चुप लागेर बस्दैनौं । सरकारले यथासिघ्र विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे बाध्य भएर हामी सबै विद्यालय बन्द गरेर आम शैक्षिक हडतालमा उत्रिन्छौं ।’
हिजोको विरासत मधेसको राम्रो भएको र अरुलाई शिक्षा दिने मधेस आज किन पछाडी पर्यो भन्ने प्रश्न गर्दै साहले मधेस मानव विकास सूचांकमा पछाडी पार्ने काम सिंहदरबारमा बसेर लुटमचाउँनेले गरेको आरोप लगाए । मधेसवादी दलका नेताहरु लुटतन्त्रको व्यापारमा लागेको र सिंहदरबारले मधेसलाई समृद्ध बनाउँन नचाहेको बताउँदै साहले अब शैक्षिक आम हडतालको बिकल्प नभएको बताए ।
शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा १ शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर १ शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर १ शिक्षक हुनुपर्ने प्रावधान रहेको छ । यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था मन्त्रालयले गरेको छैन् ।
मधेसको शिक्षाप्रति चिन्तित रहेका साहले विगतदेखी नै मधेसको बिकास, समृद्धि, सचेतनाको बारेमा चासो राख्दै आएका छन् । राज्यको कुदृष्टिले मधेस कुरुप बनेको र मधेसवादी दलका भ्रष्ट चरित्रका कारण मधेस बदनाम भएको बताउँदै मधेसको बिकास, समृद्धिका लागि यहीका युवाहरु अग्रमोर्चामा आउँनुपर्ने बताए ।