जनकपुरधाम ।
नेकपा (एकीकृत समाजवादी)को पूर्ण केन्द्रीय कमिटीको पहिलो बैठक भदौ ९ देखि ११ गतेसम्म बस्दैछ । शपथ ग्रहण, केन्द्रीय संरचनाहरूको निर्माण र विविध गरी बैठकका ३ वटा एजेन्डा तय भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
खतिवडाका अनुसार ३ सय ४४ जना केन्द्रीय सदस्य सहभागी हुने बैठकको पहिलो दिन २ सय ५१ जना केन्द्रीय सदस्यले शपथ लिनेछन् । यसअघि असार २१ गते ९३ जना सदस्यले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।
बाँकी केन्द्रीय सदस्यहरूले शपथ लिएपछि २१ मध्ये १८ जना केन्द्रीय पदाधिकारी चयनको प्रक्रिया सुरु गर्ने सो पार्टीका नेताहरूले बताएका छन् । अध्यक्ष माधव, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालबाहेक वरिष्ठ उपाध्यक्ष ७, उपमहासचिव ४ र सचिव ७ गरी १८ जना पदाधिकारी चयन गर्न बाँकी रहेको छ ।
नेता राजेन्द्र पाण्डे केन्द्रीय सदस्यहरूबिच मतदान गरेर पदाधिकारीहरू छनोट गर्नु उपयुक्त हुने धारणा राख्छन् ।
केन्द्रीय सदस्य चयनको प्रक्रियामा व्यापक असन्तुष्टि रहेको सो पार्टीमा केन्द्रीय पदाधिकारीका सवालमा समेत नेतृत्वले आफूखुसी गर्न लागेको भन्दै नेताहरू थप असन्तुष्ट बनेका छन् । केन्द्रीय समिति बैठक आह्वान गरे पनि अध्यक्ष माधवकुमार नेपालले पदाधिकारी चयनको मोडलबारे केही बताएका छैनन् । महाधिवेशनले सर्वसम्मत नेतृत्व छनोटका लागि म्यान्डेट दिएकाले अध्यक्ष नेपाल सोही अनुसार अघि बढ्न चाहेको उनी निकट नेताहरूको भनाइ छ ।
तर पदाधिकारीका आकाङ्क्षी धेरै भएपछि सहमति जुटाउन अध्यक्ष नेपाललाई समेत कठिन भइरहेकाले निर्णय गर्न ढिलाइ भएको नेताहरूको बुझाई छ । कतिपय नेताहरूले नेता नेपाललाई भेटेर मतदानमार्फत पदाधिकारी चयन गर्न सुझाव नै दिएको बताएका छन् ।
नेता राजेन्द्र पाण्डे केन्द्रीय सदस्यहरूबिच मतदान गरेर पदाधिकारीहरू छनोट गर्नु उपयुक्त हुने धारणा राख्छन् । ‘आकांक्षी धेरै देखिन्छन् । यस्तोमा मतदान गराइदिए जित्ने र हार्ने दुवै खुसी हुन्छन्,’ पाण्डेले भने, ‘नेतृत्वले कसैलाई काखी च्याप्यो भन्ने आरोप पनि खेप्नु नपर्ने हुँदा मतदानकै प्रक्रियाबाट अघि बढ्नु उपयुक्त हुने मेरो सुझाव छ ।’
‘उपाध्यक्ष, उपमहासचिव र सचिव १८ पदका लागि झण्डै ८० जनजातिले आकाङ्क्षा देखाएका छन् । यस्तोमा कसलाई पद दिने कसलाई नदिने समस्या देखिन्छ,’ अर्का केन्द्रीय सदस्यले भने,‘ केन्द्रीय सदस्य नेताहरूको भागबण्डामा मनोनीत गरिएकाले पदाधिकारीमा त्यसै गर्ने हुन् कि भन्ने लाग्छ ।’