जनकपुरधाम ।
धनुषा जिल्लामा पछिल्लो समयमा साइबर अपराधका घटनाहरु बढ्दै गईरहेको पाइएको छ । धनुषा जिल्लामा अन्य प्रकृतिका अपराधिक कृयाकलापहरु हुँदै आएपनि साइबर अपराधका घटनाहरु भने कमै संख्यामा हुने गर्थे । तर पछिल्ला वर्षहरुमा साइबर अपराधका घटनाहरु धनुषा जिल्लामा बढ्दै गईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सार्वजनिक गरेको गत आर्थिक वर्षको तथ्यांक अनुसार साइबर अपराध तथा अनलाइन ठगीका घटनाहरु धनुषामा ३ सय २० वटा भएका थिए । जसमध्ये २ सय ७८ वटा घटना तालुकको कार्यालयमा पठाइयो भने ४० वटा घटना जिल्ला प्रहरी कार्यालय धनुषामै समाधान गरिएको प्रहरी उपरीक्षक तिवारीले बताए ।
उनले साइबर अपराधमा अनलाइन ठगीका घटनाहरु अत्याधिक संख्यामा हुने गरेको बताए । यस बाहेक सामाजिक संजालमा चरित्र हत्या गर्ने, गालीगलौज गर्ने जस्ता अपराधिक कृयाकलाप समेत हुँदै आईरहेको बताए ।