एजेन्सी ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यसै साता युक्रेनको औपचारिक भ्रमणमा जाँदै छन् । भारतको विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी सो जानकारी दिएको हो ।
विदेश मन्त्रालयका सचिव (पश्चिम) तन्मय लालले भने– प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको निमन्त्रणामा शुक्रबार अगस्ट २३ मा युक्रेनको औपचारिक भ्रमण गर्नेछन् । यो भ्रमण महत्वपूर्ण र ऐतिहासिक भएको उनको भनाइ छ ।
उनले थपे– किनभने हाम्रो कूटनीतिक सम्बन्ध स्थापना भएको ३० वर्षभन्दा लामो समयपछि कुनै भारतीय प्रधानमन्त्रीले पहिलोपटक युक्रेनको भ्रमण गर्दै छन् । तन्मय लालका अनुसार यो भ्रमण नेताहरूबीच भर्खरै भएको उच्चस्तरीय वार्तामा आधारित हुनेछ ।
रुस–युक्रेन द्वन्द्वबारे उनले भने– भारतले एकदमै स्पष्ट र निरन्तर अडान राखेको छ । यो द्वन्द्व कूटनीति र संवादबाट समाधान गर्न सकिन्छ । यसले दिगो शान्ति ल्याउन सक्छ, त्यसैले वार्ता अत्यन्तै महत्त्वपूर्ण छ । दुवै पक्षलाई मान्य हुने विकल्पबाट मात्रै दिगो शान्ति हासिल गर्न सकिने र वार्ताबाट मात्रै समाधान निस्कने उनको भनाइ छ ।
उनले थपे– तपाईंलाई थाहै छ, प्रधानमन्त्री मोदीले रुस र युक्रेन दुवै पक्षका नेताहरूसँग कुरा गर्नुभएको छ र प्रधानमन्त्रीले हालै रुसको भ्रमण पनि गर्नुभएको छ ।