एजेन्सी ।
एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनले इमरान खानको अनुरोधमा ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्सन २०२४’का लागि आवेदन फारम बुझाएको बताए । यसैबीच अक्सफोर्ड विश्वविद्यालयले भने यसबारे केही बताएको छैन ।
विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्छ। अक्टोबर २८ मा अनलाइन मतदान हुनेछ । इमरान खानविरुद्ध व्यक्तिगत लाभका लागि गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोग छ । तर खानले यसलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् । संयुक्त राष्ट्र संघको प्यानलले हालै इमरान खानको हिरासत स्वेच्छाचारी भएको बताएको थियो ।