Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

कमला–ढल्केबर–बागमती खण्डको ठेक्का १९ अर्बमा लाग्यो





जनकपुरधाम
महेन्द्र राजमार्ग विस्तार अन्तर्गत कमला–ढल्केबर–बागमती सडक खण्ड निर्माण गर्न ठेक्का लागेको छ ।
सडक विभागले आइतबार सूचना प्रकाशित गर्दै उक्त खण्ड विस्तारका लागि निर्माण कम्पनी छनोट भएको जानकारी गराएको हो ।
सरकारले कमला–पथलैयासम्म यो खण्ड विस्तार योजना बनाएको छ । तर, बागमती–पथलैया खण्डमा मोडालिटी तय नभइसकेका कारण उक्त खण्डभन्दा अगाडिको खण्डमा मात्र ठेक्का लागेको हो ।
महेन्द्र राजमार्गलाई विभिन्न खण्डमा छुट्याएर चार लेनमा स्तरोन्नति गर्ने काम जारी छ । सोही क्रममा कमला–ढल्केबर–बागमती निर्माणको ठेक्का लागेको हो ।
सडक विभागले चैत २०८० मा ठेक्का आह्वान गरेको थियो । सोही क्रममा एक दर्जनभन्दा बढी निर्माण कम्पनीले प्रस्ताव पेस गरेका थिए । तीन खण्डमा निर्माणको ठेक्का लागेको आयोजनामा एउटा ठेक्का भारतीय कम्पनीले पाएको छ । दुई ठेक्का भने चिनियाँ र नेपाली कम्पनीले हात पारेका छन् । आगामी तीन वर्षमा सम्पन्न गर्ने गरी यी ठेक्का कार्यान्वयन हुनेछन् ।
सडक विभागका अनुसार महेन्द्र राजमार्ग, कमला–ढल्केबर–बागमती खण्डको पहिलो २२ किलोमिटर सडक स्तरोन्नतिका लागि भारतीय कम्पनी ईकेके इन्फ्रास्ट्रक्चर लिमिटेड छनोट भएको छ । यो खण्ड ५ अर्ब ७९ करोड ३७ लाख रुपैयाँमा ठेक्का लागेको हो ।
त्यसपछिको २९ किलोमिटर स्तरोन्नतिको जिम्मा चिनियाँ र नेपाली निर्माण कम्पनी सान्सी वाटर रिसोर्स एन्ड हाइड्रोपावर इन्जिनियरिङ ग्रुप (स्वेग) र रसुवागढी कन्स्ट्रक्सन कम्पनी (आरसीसी) जेभीले पाएका छन् । यो खण्डको ठेक्का रकम ६ अर्ब ४३ करोड २५ लाख छ ।
तेस्रो खण्डमा कुल २३ किलोमिटर सडक निर्माणको ठेक्का लागेको हो । यो खण्डमा सोही स्वेग र आरसीसी जेभीले ठेक्का पाएका छन् । यस ठेक्काको रकम ६ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ छ ।
यस प्रकार कमला–ढल्केबर–बागमतीमा कुल ७४ किलोमिटरका लागि ठेक्काको टुंगो लागेको हो ।