जयन्त ठाकुर
जनकपुरधाम ।
मधेस प्रदेशको प्रदेश वन निर्देशनालयको नवनीर्मित भवनको उदघाटन केही दिन अगाडी मात्रै गरियो । भवनको उदघाटन मधेसका मुख्यमन्त्री सतिशकुमार सिंह र मधेसको वन तथा वातावरण मन्त्री त्रीभुवन साहले संयुक्त रुपमा गरे । स्थापना भएदेखि भाडामा घर लिएर संचालनमा रहेको निर्देशनालयले आफ्नै नवनीर्मित भवनमा संचालन हुँदा त्यहाँ कार्यरत कर्मचारी खुशी हुने नै भए । तर सो कार्यालयको भवन उदघाटन संगै विवादित बनेको छ । भवन उदघाटनका लागि बनाइएको शिलालेखमा प्रदेश वन निर्देशनालयका निर्देशक जगन्नाथ प्रसाद जयसवालले आफ्नो नाम राखेपछि त्यसको चौतर्फी आलोचना भई रहेको छ ।
शिलालेखमा निर्देशकले आफ्नो कार्यकालमा यो भवन निर्माण भएको दर्शाउने अभिप्रायले भावनको उदघाटन गरेका मुख्यमन्त्री सिंह र मन्त्री साहसंगै आफ्नो नाम समेत लेखाउन लगाएका छन् । उनले आफ्नो नाम समेत राखेको विषयलाई लिएर अहिले सामाजिक संजालमा समेत आलोचना भईरहेको छ ।
संचारकर्मी अनिलकुमार कर्णले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ‘प्रदेश वन निर्देशक जगन्नाथ जायसवालले घरखेत बेचेर बनाको सरकारी भवन हो र ! निर्लज्जताको पनि सीमा हुन्छ यार ।’ संचारकर्मी कर्णले लेखेको त्यो पोस्टमा दर्जनौ प्रतिक्रिया समेत आएका छन् ।
प्रदेश वन निर्देशनालयका निर्देशक जयसवालको यो कृयाकलापलाई लिएर चौतर्फी आलोचना भईरहँदा उनले मधेसमा राम्रो काम गर्दा पनि खुट्टा तान्ने प्रवृति रहेको प्रतिक्रिया दिए । उनले भने ‘मैले यस्तो दर्जनौँ स्थानमा देखेको छु, यो कुनै नौलो विषय होइन ।’ नराम्रो काम गर्दा जोकोहीको पनि आलोचना हुन्छ तर मधेसमा राम्रो काम गरेर देखाएपनि खुट्टा तान्ने प्रवृति रहेको उनले भने ।
प्रदेश सरकार मातहत रहेको निर्देशनालयले आफ्नै भवन पाएको छ, भाडाको कार्यालयबाट मुक्ति पाएको छ, यसमा हामी खुशी हुनुपर्ने हो तर मेरै आलोचना भईरहेको देखेर आश्चर्य लागिरहेको छ उनले भने ।
यस अघि प्रदेश वन निर्देशनालयको भवन रेडक्रसको भवन भाडा लिएर कार्यालय संचालनमा रहँदै आएको थियो । जसका लागि निर्देशनालयले मासिक १ लाख रुपैयाँ भाडा तिर्दै आएको थियो । तर नयाँ भवन निर्माण भएसंगै त्यो आर्थिक भारबाट निर्देशनालयले मुक्ति पाएको छ ।
४ करोड ८९ लाख ३४ हजार २ सय २१ रुपैयाँमा श्रीराम जानकी निर्माण सेवा जनकपुर १०ले सम्झौता गरेको थियो । निर्देशनालयको नव निर्मित ३ तल्ले भवन भेरिएसनसहित कुल ५ करोड १० लाख ७२ हजार ९ सय ९५ रुपैयाँमा निर्माण कार्य सम्पन्न भएको छ ।