Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

मधेसमा नक्कली नोटको बिगबिगी, ३५ लाख बढी बरामद





जनकपुरधाम ।
मधेसमा पछिल्लो समय नक्कली नोटको बिगबिगी बढ्दै गईरहेको पाइएको छ । मधेस प्रदेश प्रहरीको तथ्यांकलाई हेर्ने हो भने मधेसका ८ वटै जिल्लामा नक्कली नोटको कारोबार बढेको छ । एक किसिमले मधेस प्रदेश नक्कली नोट कारोबारीका लागि ट्रान्जिट प्वाइन्ट बन्दै गईरहेको छ ।
प्रदेश प्रहरीका अनुसार मधेसबाट दिनहुँ नेपाली तथा भारतीय नक्कली नोट बरामद हुँदै आईरहेको छ ।
प्रदेश प्रहरीको तथ्यांक अनुसार प्रदेशका ८वटै जिल्ला गरेर पछिल्लो आर्थिक वर्षमा लगभग ३६ लाख रुपैयाँ नक्कली नेपाली नोट बरामद भएको छ । प्रहरीका अनुसार एक वर्षमा ३५ लाख ८६ हजार ३२० रुपैँया बराबरका नक्कली नेपाली नोट बरामद भएको हो । यही अवधिमा १५ हजार २सय २० मूल्य बराबरका भारतीय नक्कली रुपैँया बरामद गरेको प्रहरीले जनाएको छ ।
प्रदेशका सबै जिल्लाहरुबाट प्रहरीले धमाधम नेपाली नक्कली नोट बरामद गर्न थालेका छन् । मुख्यगरी प्रदेशका ४ वटा जिल्लाबाट नक्कली नेपाली नोट बरामद भएको प्रहरीको अभिलेख छ ।
प्रहरी तथ्यांक अनुसार सबैभन्दा बढी रौतहट जिल्लाबाट प्रहरीले २० लाख १६ हजार रुपैँया बरामद गरेको छ । बाराबाट १३ लाख ८९ हजार ५०० रुपैँया बरामद गरेको छ ।
पर्साबाट १ लाख ६४ हजार, सर्लाहीमा १६ हजार ८२० रुपैँया बरामद भएको प्रहरीको तथ्यांक छ ।
सोही एक वर्षको अवधिमा प्रहरीले ३ जिल्लाबाट भारतीय रुपैँया बरामद गरेको प्रहरीको विवरण छ । प्रहरीले सर्लाही, रौतहट र बारा जिल्लाबाट भारतीय रुपैँया बरामद गरेको जनाएको छ । प्रहरीका अनुसार सर्लाहीबाट १३ हजार ३२०, बाराबाट १ हजार र रौतहटबाट ९०० भारतीय रुपैँया बरामद भएको हो ।
गत वर्ष नक्कली नेपाली नोटसहित प्रदेशभरबाट ३८ जना पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा एक जना महिला समेत रहेको छ । नक्कली नोटको कारोबारमा पक्राउ पर्नेमा रौतहट जिल्ला अग्रस्थानमा परेको छ । उक्त जिल्लाबाट मात्र प्रहरीले १६ जनालाई पक्राउ गरेको विवरण छ ।
त्यसपछिको सुचिमा बारा जिल्ला छ । त्यहाँबाट समेत प्रहरीले १२ जनालाई पक्राउ गरेको जनाएको छ । यसैगरी सर्लाहीबाट ६ जना, पर्साबाट १ जना महिलासहित ४ जनालाई पक्राउ गरेको प्रहरीको भनाइ छ ।
प्रहरीले त्यो वर्ष पक्राउ परेका एक जना महिलासहित ३८ जनामध्ये केहि माथि भने मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीका अनुसार प्रदेशभरबाट १५ जनामाथि मुद्दा दर्ता भएको छ । सबैभन्दा बढी मुद्दा बारामा दर्ता भएका छन् । बारामा ५ जनामाथि प्रहरीले मुद्दा दर्ता गरेको तथ्यांक छ । प्रहरीका अनुसार सर्लाहीमा ४ जनामाथि मुद्दा दायर भएको छ । यस्तै रौतहटमा ४, पर्सा २ जनामाथि मुद्दा दायर गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रदेश प्रहरीका प्रवक्ता सुबासचन्द्र बोहराले मधेशमा पछिल्लो समय नेपाली नक्कली नोट बढी बरामद भइरहेको स्वीकार गरे ।
उनले भने, ‘पछिल्लो समय बरामद भइरहेको नेपाली नक्कली नोटलाइ लिएर हामी पनि चिन्तित भएका छौं, यसको बारेमा अध्ययन गर्न विशेष टोलीले नै परिचालन गरिएको छ । खुल्ला सीमाका कारण नेपाली नक्कली नोट बरामद भइरहेको बुझिएको छ ।’
तर यसको नियन्त्रणका लागि हामीले बैग्लै रणनीति बनाएर काम गरिरहेको उनको भनाइ छ । यद्यपि चालु आर्थिक वर्षको एक महिनाको अवधिमा खासै नक्कली नोट बरामद नभएको र सो कारोबारमा संलग्न पनि पक्राउ नपरेको उनले बताए । बोहराले भने ‘पछिल्लोे समय नक्कली नोटका कारोबार बढेको छ, तर चालु आर्थिक वर्षमा अलि अलि बरामद भएका छन् तर ठूलो परिमाणमा भने बरामद भएका छैनन् ।’ प्रदेश प्रहरी नक्कली नोट कारोबारलाई नियन्त्रण गर्नका लागि निरन्तर अनुगमनमा लागेको बोहराले जानकारी दिए ।