कमलामा नयाँ पुल निर्माणका लागि नितिगत निर्णय आवश्यकः कृष्णकुमार महतो





कमला नदीमा पुल निर्माणको माग गर्दै आन्दोलन घोषणा गरेको संघर्ष समितिले मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई गत साउन २७ गते ज्ञापनपत्र बुझायो । संघर्ष समितिले सात दिनभित्र माग कार्यान्वयन नभए मुख्यमन्त्री कार्यालय अगाडि भदौ ५ देखि आमरण अनशन गर्नेसम्मको चेतावनी दिएको छ । कमला पुल मरम्मत हुन नसक्दा त्यो बाटो भएर आवतजावत गर्ने स्थानीयलाई सास्ती खेप्न परिरहेको छ । अहिले आएर सिरहाका स्थानीय पुल मरम्मत नभई नयाँ पुल निर्माणको माग गर्दै आन्दोलित भएका छन् । स्थानीयको माग अनुसार नयाँ पुल निर्माण सम्भव छ ? पुल मरम्मतको काम किन सुस्त गतिमा चलिरहेको छ लगायतको विषयमा मोडेलखबरका लागि समाचार संयोजक जयन्त ठाकुरले हुलाकी राजमार्ग आयोजना जनकपुरधामका प्रमुख कृष्णकुमार महतोसंग कुराकानी गरेका छन् ।

कमला पुल भासिएको ३ वर्षपछि पनि पुलको मरम्मत किन हुन सकेको छैन ?
मरम्मतको काम रुकेको त होइन तर जे गतिमा काम हुनुपर्ने हो त्यो गतिमा भने पक्कै पनि मरम्मतको काम हुन सकिरहेको छैन । यो समस्या फेरी देशै भरीको हो । निर्माण व्यवसायीहरुको आर्थिक अवस्था देशैभरी कमजोर हुँदै गईरहेकाले देशैभरी यस्तो समस्सया देखिएको हो । ठेक्केदारहरुको भुक्तानी हुन सकिरहेको छैन, इन्स्योरेन्स कम्पनीले रकम पनि उपलब्ध गराएको छैन त्यसकारण पनि अहिले मरम्मतको काम सुस्त गतिमा चलिरहेको छ । यद्यपि निर्माण व्यवसायीहरु काम गर्छु भन्दै आईरहेका छन् र गरि पनि रहेका छन् ।
निर्माण कम्पनीलाई गतिमा काम गर्न किन दवाब दिई रह्नु भएको छैन ?
निर्माण कम्पनीहरु अहिले अर्थ अभाव झेलिरहेको छ । निर्माण कम्पनीले इन्स्योरेन्सबाट पाउनुपर्ने क्षतिपूर्ति पाउन नसकेकाले क्षतिपूर्तिको माग गर्दै उच्च अदालतमा मुद्दा पुुगेको जानकारी कार्यालयलाई गराई सकेको छ । अदालती प्रकृया तथा क्षतिपूर्ति पाउन नसकेका कारण पूल मरम्मतको काम सुस्त गतिमा चलिरहेको छ । निर्माण कम्पनी अहिले अदालती प्रकृयामा रहेकाले त्यसमा दवाब दिने विषय नै भएन ।
मरम्मतको काम अहिले कहाँसम्म पुगेको छ ?
पुलको पूर्व तर्फ अर्थात सिरहा तर्फ जुन पिलर भासिएको थियो त्यो फेरी बन्ने अवस्था थिएन । त्यसको साटो त्यही दुई वटा पिलरको जगको निर्माण कार्य सम्पन्न भई सकेको छ । अब अहिले वर्षाको मौसम रहेकाले काम रोकिएको छ । निर्माण कम्पनीहरुले असोजपछि फेरी मरम्मतको काम शुरु गर्ने बताएका छन् ।
बजेटको अभाव त छैन नि ?
यस्तो छ यसमा बजेट अभावको विषय छैन । डिजाइन बिलको ठेक्का रहेकाले यसमा राज्यलाई बजेट उपलब्ध गराउनु पर्दैन । यसमा निर्माण कम्पनीलाई नै निर्माण काम गर्नुपर्ने हुन्छ, साथै कुनै क्षति भए त्यो मरम्मतको काम पनि निर्माण कम्पनीलाई नै गर्नुुपर्ने हुन्छ । त्यसैले सरकारलाई यसमा थप निकासा गर्नुपर्ने बााध्यता हुँदैन त्यसैले बजेट अभाव छ भन्न मिल्दैन । तर निर्माण व्यवसायीहको हिसाबले पैसाको अभाव भने पक्कै छ । किनभने इन्स्योरेन्स कम्पनीले निर्माण व्यवसायीलाई पैसा उपलब्ध गराएन ।

सिरहाका स्थानीयले नयाँ पुल निर्माणको माग गर्दै मुख्यमन्त्री सतिश सिंहलाई अल्टिमेटम बुझाएका छन्, के नयाँ पुल निर्माण सम्भव छ ?
यो विषयमा म केही प्रतिक्रिया दिन सक्ने स्थितिमा छैन । अब यो संघ सरकारको योजना हो । जबकि स्थानीय प्रदेश सरकारका मुख्यमन्त्री समक्ष नयाँ पुल निर्माणको माग गरेका छन् । यो विषय दुई सरकार बिचको नितिगत निर्णयबाट मात्रै सम्भव छ । त्यसैले मलाई यो विषयमा केही बोल्नु उचित लाग्दैन ।
कहिलेसम्म यो पुल भएर यात्रु आवत जावत गर्न सक्ने छन् ?
मलाई सोध्नु हुन्छ भने कार्यालय प्रमुखको हिसाबले म त चाहन्छु चालु आर्थिक वर्ष भित्रै यात्रु त्यो बाटो भएर ओहोर दोहोर गर्न सकोस ।