

एजेन्सी ।
भारतीय अभिनेत्री सपना चौधरीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । दिल्लीको तीस हजारी अदालतले ठगी मुद्दामा सपनाको अनुपस्थितिका कारण वारेन्ट जारी गरिएको हो ।
सपना विरुद्ध दिल्लीको आर्थिक अपराध शाखाले आरोपपत्र दायर गरेको छ । यो घटना सन् २०२१ को हो जब पवन चावला नामका व्यक्तिले सपना विरुद्ध उजुरी दिएका थिए ।
रिपोर्टअनुसार, चौधरी उपस्थित नभएको भन्दै मुख्य न्यायिक मजिस्ट्रेट (सीजेएम) रश्मी गुप्ताले सपना चौधरीविरुद्ध गैर जमानती वारेन्ट जारी गरेकी हुन् । मुद्दाको सुनुवाइका क्रममा प्रधानन्यायाधीशले भने, ‘सुनुवाइको अन्तिम दिन अभियुक्तले छुट मागेको थियो । र, आज पनि अभियुक्तलाई बोलाए पनि उनी अदालतमा हाजिर भएनन् । अदालतले मुद्दाको कारबाहीका लागि आगामी अक्टोबर २५, २०२४ को मिति तोकेको छ ।’
उजुरीकर्ता पवन चावलाले सपनालाई कामका लागि पैसा दिएको बताएका छन् । तर, सपना र उनको परिवारका सदस्यहरूले त्यो पैसाको दुरुपयोग गरे । उनीविरुद्ध मे २८, २०२४ मा ठगीको मुद्दा दर्ता भएको थियो ।
यद्यपि सपना विरुद्ध ठगीको मुद्दा दर्ता भएको यो पहिलो पटक होइन । यसअघि पनि सन् २०१८ मा उनीविरुद्ध ठगी मुद्दा दर्ता भएको थियो । पैसा लिए पनि कार्यक्रम गर्न नआएको आरोप लगाइएको थियो ।
रियालिटी टिभी शो ‘बिग बोस ११’ मा सहभागी भएर ३३ वर्षीया सपना चौधरीले सर्वाधिक चर्चा पाएकी हुन् । हरियाणाकी सपना पहिले स्टेज कार्यक्रममा डान्स गर्थिन् ।
सपना अहिले भोजपुरी फिल्म र म्युजिक भिडियोमा देखिएकी छिन् । सपना यस वर्ष मेमा कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा पनि हिँडेकी थिइन् । हालै भोजपुरी सुपरस्टार खेसरीलाल यादवसँगको उनको गीत सार्वजनिक भएको छ ।
