सुजीतकुमार झा
जनकपुरधाम ।
स्यालको आतंक रोक्न जनकपुर एयरपोर्ट प्रशासनले भगवान हनुमान र महादेवको पूजा अर्चना गरेको छ । अधिकारीहरु एयरपोर्ट भन्दा पूर्व दक्षिण कुणामा रहेको हनुमान मन्दिर र पश्चिममा रहेको शौनेश्वरनाथ मन्दिरमा पूजा गरेको जनकपुर एयरपोर्ट कार्यालयका प्रमुख भीमदत्त पन्थले जानकारी दिएका छन् ।
बर्षाको समयमा प्रत्येक वर्ष स्याल जनकपुर एयरपोर्टमा आतंक मच्चाउँदै आईरहेको छ । खेतमा पानी भरिएपछि दूलो भएर स्याल एयरपोर्टमा छिर्ने गरेको छ । जसकारण हवाइजहाजको लैण्डिङ्गंमा समस्या हुने गरेको छ । बुद्ध एयर जनकपुर कार्यालयका प्रमुख विजयकुमार सिंहले स्याल देखिएपछि केही समयका लागि विमानलाई माथि नै होल्ड गरेर राख्नु पर्ने बाध्यता समेत रहेको बताए । जंगली जानवरको समस्या जनकपुर एयरपोर्टमा मात्र नभइ देशभरिका अधिकांश एयरपोर्टमा हुने गरेको छ । जनकपुरधाममा एक महिना भित्रै एक दर्जन स्याल देखि सकिएको छ ।
‘हामीले पूजापाठ मात्रै नभइ एयरपोर्ट छेउछाउमा रहेका अधिकांश झाड़ीलाई उखालेर फालेका छौँ, दूलोहरु समेत पुरेका छौँ,’ विमानस्थल प्रमुख पन्थले बताए । कुनै बाधा आएपछि पूजापाठ गर्ने चलन रहेको छ यसकै निरन्तरता विमानस्थलका अधिकारीहरुले दिएका छन् । पन्थले भने ‘स्याल मार्नैपर्ने अवस्था नआओस र विमानका यात्रीलाई पनि क्षति नहोस त्यसमा लागेको छु ।’
एयरपोर्टले यस सम्बन्धमा एक साता अघि एउटा विशेष बैठक गरेको थियो । सो बैठकमा धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेल, डिभिजन वन कार्यालयका डिएफओ बेचन चौधरी, डा. संजिवकुमार ठाकुर, विष्णुदल गणका मेजर अरुणकुमार श्रेष्ठ, जनकपुरधाम उपमहानगरपालिकाका सुभाषचन्द्र शर्मा, एयरपोर्टका सुरक्षागार्ड प्रमुख राजन थापा, बुद्ध एयर जनकपुर कार्यालयका प्रमुख विजयकुमार सिंह, यति एयरलाइन्स जनकपुरका प्रमुख राजेश सिंह जनकपुर एयरपोर्ट कार्यालयका प्रमुख पन्थको उपस्थिति रहेको थियो । अहिले स्याल देखिएपछि हवाइफायर गरि भगाउने गरिएको छ । अहिले टावरबाट पनि स्याललाई निगरानी गरिदैछ भने नेपाल प्रहरी, सेनाले पनि निगरानी गरेर धपाउने गर्छन् । एयरपोर्टमा नेपाल प्रहरीका १८ जना र नेपाली सेनाका १८ देखि ३० जना सम्मको टोली रहेको छ ।
एयरपोर्टमा डकिंग गनको माध्यमले स्याललाई बेहोस पारेर जंगलमा छोड्ने तयारी गरिरहेको छ, जसका लागि डिभिजन वन कार्यालय धनुषासंग समन्वय भइरहेको प्रमुख पन्थले बताए ।
नेपालका विमानस्थलमा बँदेल, स्याल तथा कागको आतंक बढ्दै गएको देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत असोजमा गठन गरेको उडान सुरक्षा छानबिन समितिले बुझाएको प्रतिवेदनले पछिल्ला वर्षहरुमा विमानस्थलमा जनावर र चराको आतंक बढ्दो क्रममा रहेको देखाएको छ । खासगरी कोरोना महामारीको समयमा विमान कम चलेको समयमा बाहेक विमानस्थलहरुमा जनावर र चराको आतंक निरन्तर रहेको देखिएको छ ।
नेपालका विमास्थलमध्ये काठमाडौंमा कागको आतंक धेरै देखिने गरेको छ । भैरहवा, नेपालगञ्ज र विराटनगर भने वन्यजन्तुका कारण असुरक्षित देखिएका छन् । यी विमानस्थलमा बँदेल, स्यालजस्ता जनावरसँग जहाज ठोक्किने घटना धेरै भइरहेका छन् । समितिको प्रतिवेदनले भनेको छ, ‘वन्यजन्तुको क्रियाकलापका कारण हवाई सुरक्षामा चुनौती र जटिलता थपेको छ ।’
वर्षायाममा गड्यौंला बढी बाहिर देखिने र त्यसको शिकारमा आउने चराले समेत बढी भूमिका खेल्ने गरेको प्राधिकरणको भनाइ छ । त्रिभुवन विमानस्थलका एक अधिकारीका अनुसार यहाँ ‘वर्ड स्क्यानिङ डिभाइस’मार्फत चरा भगाउने गरिएको छ ।
जहाजलाई चराबाट जोखिम हुने देखिएपछि बम विष्फोट जस्तै हुने गरी डिभाइस पड्काएर चरा धपाउने गरिन्छ । गड्यौंला नियन्त्रण गर्न ठेक्का नै लगाएर धावनमार्ग आसपास केमिकल छर्किने गरिएको छ ।
नेपालमा वन्यजन्तु र चराचुरुङ्गीका कारण उडान सुरक्षामा पर्ने जोखिम न्यूनीकरणबारे धेरै बहस भए पनि कार्यान्वयनमा कमजोरी देखिएको छ ।