जनकपुरधाम ।
उपचारमा लापरबाही गरेको भन्दै प्रादेशिक अस्पताल सिरहाका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट (मेसु) र अर्का एक जना चिकित्सकविरुद्ध जाहेरी परेको छ । तत्कालीन मेसु डा. नागेन्द्रप्रसाद यादव र चिकित्सक सन्तोष गोइतविरुद्ध जाहेरी परेको हो ।
फिस्टुलाको अपरेशनको क्रममा दुवै घुँडामा करेन्ट लगाएर गम्भीर घाउ बनाइदिएको भन्दै सिरहाको कल्याणपुर नगरपालिका–१२ बेल्हाका २४ वर्षीय रामबाबु महतोले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।
पीडित महतोले जिल्ला हुलाक कार्यालयमार्फत आइतबार जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दर्ता गराएका हुन् । प्रहरीले जाहेरी लिन नमानेपछि हुलाक कार्यालय मार्फत दर्ता गराएको पीडित महतोले बताए ।
मलद्वारमा समस्या भएपछि चैत ६मा अस्पतालमा भर्ना भएका महतोको भोलिपल्ट चैत ७मा फिस्टुलाको शल्यक्रिया भएको थियो । अपरेसन थिएटरबाट निकाल्दा उनको देब्रे घुँडाको छाला बढी र दाहिने घुँडामुनि पनि ३ ठाउँमा हल्का–हल्का जलेको थियो ।
शल्यक्रिया अस्पतालका तत्कालीन मेसु समेत रहेका सर्जन डा. यादवले गरेका थिए । शल्यक्रिया गरेको उनले स्वयं स्वीकार गरिसकेका छन् । त्यसबेलाका मेसु यादवले औषधि उपचारको सम्पूर्ण खर्च बेर्होर्ने आश्वासन दिएका थिए ।
पीडित महतोसोही अस्पतालमा भर्ना भएर उपचार गराइरहेका थिए । चैत २८मा मेसु डा. नागेन्द्र यादवको राजविराजस्थित गणेजन्द्रनारायण सगरमाथा अस्पतालमा सरुवा भयो । उनी अहिले त्यहाँका निमित मेसु छन् ।
घाउ बल्झिदा महतोलाई भने सिरहा अस्पतालले वैशाख १८मा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिदियो । दाहिने घुँडाको तीन ठाउँमा डढेको घाउ निको भएपनि देब्रे घुँडाको घाउ अहिलेसम्म निको भएको छैन ।
क्षतिपूर्ति र लापरबाही गर्ने चिकित्सकलाई कारबाहीको माग गर्दै घुँडामा भएको घाउ बोकेर उनी न्यायको लागि भौतारिरहेका छन् ।
मेसुसहित चिकित्सकको चरम लापरबाहीले आफ्नो यस्तो अवस्था आएको भन्दै पीडित रामबाबुले हालसम्म आफ्नो फिस्टुलाको घाउ पनि निको नभएको गुनासो गरेका छन् । ‘फिस्टुलामा अहिले पनि समस्या छ र निको भएको छैन । फिस्टुलाको उपचार गर्न गएकोमा सोको उपचार राम्रोसँग भएन बरु बढ्यो भने मलाइ खुट्टामा विपक्षीहरुवाट लापरबाही गरेर जलाएर झनै कडा रोगको सिकार भएको छु,’ उनको जाहेरीमा उल्लेख छ ।
उनले उपचार गराउन लागेको खर्च, अगामी दिनमा लाग्ने खर्चसहित १३ लाख र उपचारमा लापरबाही गर्ने मेसुसहित चिकित्सकबाट २० लाख गरी ३३ लाख रुपैयाँ क्षतिपूर्ति दिलाइदिन जाहेरीमा माग गरिएको छ ।