जनकपुरधाम ।
विषाक्त खानाका कारण बाराको सिम्रौनगढमा एकै परिवारका तीनजना बालबालिकाको मृत्यु भएपछि प्रहरीले घटनाको सुक्ष्म ढंगले अनुसन्धान शुरु गरेको छ । सिम्रौनगढ नगरपालिका– ७ झवानी टोल निवासी नरेश रामको परिवारले शनिबार साँझको खानामा माछा र भात खाएका थिए ।
सँगै खाना खाएका परिवारका ६ जनामध्ये तीनजना बालबालिकाको मात्रै ‘फुड प्वइजन’को कारण मृत्यु भएको चिकित्सकले बताएका छन् । बालबालिकासँगै बसेर उही खाना खाने तीन जना वयस्कलाई भने केही नभएपछि प्रहरीले घटनालाई रहस्यमय मान्दै अनुसन्धान अगाडी बढाएको छ ।
‘त्यो परिवारमा ७ जना रहेछन्,’ इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले भने, ‘शनिबार साँझ तीन बालबालिकासहित परिवारका ६ जनाले सँगै बसेर खाना खाएका रहेछन् । तर, बालबालिकाको फुड प्वइजनबाट मृत्यु हुँदा पनि बयस्क तीन जनालाई भने केही भएको छैन । यो घटना अलिक रहस्यमय देखिएको छ ।’
घरमुली नरेश रोजगारीको लागि भारतको पञ्जाबमा बस्छन् । घरमा नरेशका आमा–बुवा, पत्नी र तीनजना छोराछोरी बस्दै आएका थिए । तीन बालबालिका विषाक्त खानाका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
‘शनिबार साँझ घर नजिकैको पोखरीबाट ल्याएको माछासँग भात खाएर सुतेका बालबालिका राति सिकिस्त बिरामी भएपछि अस्पताल लगिएको रहेछ,’ जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी प्रकाश सापकोटाले भने, ‘आइतबार र सोमबार उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।’
मृत्यु हुनेमा ९ वर्षीया लालिमा राम, ७ वर्षीया पुष्पा राम र ५ वर्षीय छोरा कृष्णनन्दन राम छन् । उनीहरुको कलैया र वीरगञ्जका अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चिकित्सकले उनीहरुको मृत्यु फुड प्वइजनबाट भएको बताएका छन् । खाना खाएपछि पेट दुख्ने, बान्ता हुने र झाडापखाला लाग्ने समस्या भएपछि बालबालिकालाई अभिभावकले अस्पताल पुर्याएका थिए ।
‘वीरगन्जस्थित नेसनल मेडिकल कलेजका डाक्टर अशोक गुप्ताले बालबालिकाको मृत्यु फुड प्वाइजनबाट भएको पुष्टि गरेका छन्,’ इन्सपेक्टर राईले भने, ‘तर, घटना रहस्यमय देखिएकाले हामीले भीसेरा परीक्षणको लागि नमूना काठमाडौँ पठाएका छौँ । रिपोर्ट आएपछि थप विषय खुल्ला ।’
परिवारका सबै सदस्यले माछासहितको खाना खाए पनि अभिभावक भने बिरामी नपरेपछि प्रहरीले घटनालाई रहस्यम मानेको हो ।
‘अहिलेसम्म हामीलाई प्राप्त जानकारीअनुसार तीनजना बालबालिकाको मृत्यु भए पनि ठूला मान्छेलाई केही भएको छैन,’ सापकोटाले भने, ‘माछाभातले फूड प्वाइजन हुँदा त ठूला मान्छेलाई पनि हुनुपर्ने हो । हामी थप अनुसन्धानकै क्रममा छौँ ।’
उनले इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताए ।
इन्सपेक्टर राईले माछा र भातकै कारण कारण फूड प्वाइजन भएर बालबालिकाको मृत्यु भएको भन्न नसकिने बताए ।
‘त्यो माछा नजिकैको पोखरीबाट ल्याइएको रहेछ । फेरि त्यो परिवारले मात्रै पनि त्यो पोखरीको माछा खाएका होइनन् । स्थानीय धेरै परिवारले त्यो माछा खाएको देखिन्छ,’ इन्सपेक्टर राईले भने, ‘तर, गाउँका कसैलाई पनि केही भएको छैन । सँगै खाना खाने ती बालबालिकाकी आमा र हजुरबा–हजुरआमालाई पनि केही भएको छैन ।’ आफ्ना सबै छोराछोरीको मृत्युपछि आमा विछिप्त अवस्थामा छिन् ।
‘अहिले उनलाई थप सोधपुछ गर्ने अवस्था पनि छैन,’ राईले भने, ‘तर, ती बालबालिकाले माछा भातमात्रै खाँदा फूड प्वाजन भएको जस्तो देखिँदैन । शनिबार राति करिब ८ बजे खाना खाएर सुतेका बालबालिका राति दुई बजेतिर सिकिस्त बिरामी परेको देखिन्छ । उनीहरुलाई भोलिपल्ट बिहान सात बजेमात्रै अस्पताल लगिएको रहेछ ।’
आफ्ना सबै छोराछोरीको मृत्यु भएको खबर पाएपछि नरेश राम भारतको पन्जाबबाट सोमबार घर आइपुगेका छन् । पोष्टमार्टमपछि उनले आफ्ना तीन छोराछोरीकै शव अस्पतालबाट बुझेर लगेका प्रहरीले जनाएको छ ।
बिरामी परेपछि बालबालिकालाई सुरुमा उपचारका लागि स्थानीय सिम्रौनगढ स्वास्थ्य क्लिनिकमा लगिएको थियो ।
तर त्यहाँका स्वास्थ्यकर्मीले बालबालिकाको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै थप उपचारका लागि प्रादेशिक अस्पताल कलैया लैजान भनेका थिए ।
अस्पताल पुग्नुअघि नै ९ वर्षीया लालिमाको मृत्यु भएको थियो । बाँकी दुईजना बालबालिकाको स्वास्थ्य अवस्था थप जटिल भएपछि कलैया अस्पतालले पनि वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा रेफर गरेको थियो ।
नेसनल मेडिकल कलेजमा उपचारको क्रममा पुष्पा राम र कृष्णनन्दन रामकोसमेत मृत्यु भएको प्रहरीले जनाएको छ ।