जयन्त ठाकुर ।
प्राचिन समयमा मिथिलाको राजधानीको रुपमा रहेको जनकपुरधाम हजारौँ वर्षपछि फेरी राजधानी हुने गौरव प्राप्त गर्यो । मधेश प्रदेशको प्रदेशसभाबाट ३ वर्ष अगाडी २०७८ माघ ३ गते दुई तिहाई बहुमतका साथ मधेश प्रदेशको स्थायी राजधानी बन्न जनकपुरधाम सफल भयो ।
जनकपुरधामले राजधानी बन्ने गौरव मिथिलाको राजनीतिक रुपमा अस्तित्व समाप्त भएको हजारौँ वर्षपछि यो गौरव प्राप्त गर्यो । त्रेता युगमा यो भूभागको नाम मिथिला थियो । जहाँ शिरध्वज जनकले शासन गर्थे । उनले शासन गर्ने मिथिलाको राजधानी जनकपुरधाम नै थियो । तर जनकवंशको अन्तिम राजा कराल जनकको शासन अन्त्य भएपछि मिथिलाकालागि अन्धकार युग नै शुरुवात भएको मानिन्छ । राजनीतिक रुपमा देशको रुपमा अस्तित्व समाप्त भएपछि मिथिला कमजोर हुँदै गईरहेको थियो तर जनकपुरधामको भूमिका भने कुनै कुनै रुपमा मजबुत नै थियो । मिथिला कमजोर हुँदै गएपछि जनकपुरधामले राजधानीको गौरव मात्रै होइन मिथिलाको भू–भाग पनि दुई देशमा विभाजित हुन पुगेको थियो । भू–भाग विभाजन भएपछि मिथिलाको शक्ति पनि क्षिण हुँदै गयो । यद्यपि जनकपुरधामले कुनै पनि राजनीतिक निर्णयमा आफ्नो भूमिका, राजनीतिक आन्दोलनमा भूमिका, ऐतिहासिक महत्व भने गुमाएको थिएन । जनकपुरधामले पटक पटक आफ्नो ऐतिहासिकता र विभिन्न राजनीतिक आन्दोलनमा आफ्नो भूमिका दर्शाउँदै आई रहेको छ । जनकपुरधामले त्रेता युगदेखिको विरासत अझैसम्म बचाएर राखेको छ भन्दा अतिशयोक्ति नहोला ।
जनकपुरधामको राजनीतिक ईतिहास
जनकपुरधामले नेपालको विभिन्न परिवर्तनको आन्दोलनमा समेत आफ्नो अग्रणी भूमिका निर्वाह गरेको छ । नेपालमा अहिले संघिय शासन प्रणाली छ । विभिन्न आन्दोलनको बलमा नेपालमा संघिय व्यवस्थाका साथै गणतान्त्रिक व्यवस्था लागु भएको छ । यसमा जनकपुरधामले अग्रणी भूमिका निर्वाह गरेको छ ।
तमलोपाका बरिष्ठ नेता डा. विजयकुमार सिंहले त्यो समयमा प्रतिक्रिया दिँदै भनेका थिए मधेश प्रदेशले राजधानीको रुपमा समृद्ध इतिहास बोकेको जनकपुरधाम पाउनु गौरवको विषय हो । ज्ञान विज्ञानको दृष्टिले त्रेता युग र द्वापर युगमै समृद्ध रहेको जनकपुरधाम राजनीतिक भूमिकाको दृष्टिले पनि पहिले देखि नै समृद्ध रहँदै आएको छ ।
मिथिला भूमिमा वौद्ध तथा जैन धर्मको प्रभाव बढेको समयमा जनकपुरधाको राजनीतिक प्रभाव कम हुँदै गयो । आदि गुरु शंकराचार्यको मिथिला भ्रमण, शंकराचार्यसंगको माण्डन मिश्रको शास्त्रार्थले फेरी जनकपुरधामलाई प्रकाशमा ल्याएको नेता सिंह बताउँछन् ।
नेपालमा भएको प्रत्येक परिवर्तनको आन्दोलको अगुवाई जनकपुरधामले गरेको दावी मैथिलीका साहित्यकार परमेश्वर कापडि़ गर्छन् । संसारमै पहिलो पटक संघियताको अभ्यास गर्ने यही भूमि रहेको दावी गर्दै कापडि़ले नेपालको आधुनिक इतिहासमा समेत जनकपुरधामको राजनीतिक महत्व विशिष्ट रहेको बताए । आधुनिक नेपालमा समेत संघियताको आवाज यही भूमिबाट उठेको र गणतन्त्रका लागि जनकपुरधामबाटै पहिलो पटक आवाज उठेको उनको भनाई छ । कापडि़ले भने ‘जनकपुरधामस्थित जानकी मन्दिरको प्राङ्गणमा शहीद दुर्गानन्द झाले तत्कालिन राजा महेन्द्रमाथी बम प्रहार गरेर गणतन्त्रको आन्दोलनमा बल पुर्याएका थिए ।’ यसका साथै २००७ सालमा प्रजातन्त्रका लागि भएको आन्दोलनमा यो भूमिको भूमिकालाई नकार्न नसकिने कापडि़ बताउँछन् । २०३६ सालमा जनकपुरधाममै पहिलो पटक पंचायती शासन बिरुद्ध जुलुश निस्केको स्मरण गर्दै कापडिले २०६२ सालमा भएको दोस्रो जनआन्दोलनको अगुवाई जनकपुरधामले नै गरेको दावी गरे ।
जनकपुरधामको भूमिबाट शुरु भएको मधेश जनविद्रोहकै बलमा नेपालमा संघियताले स्थान पाएको राजनीतिज्ञहरु बताउँछन् ।
जनकपुरधामको इतिहास
श्रीमद्भागवत, वाल्मिकी रामायण, बृहदारण्यकोपनिषद्, गन्धारक सुरुचि जातक, शक्ति संगम तन्त्र, बृहत् विष्णुपुराण आदि पौराणिक ग्रन्थहरूमा मिथिला र विदेह विषयमा चर्चा रहेको पाइन्छ । वाल्मिकी रामायणमा त जनकपुरधामलाई मिथिलाको राजधानीको रुपमा चर्चा गरिएको छ । यस हिसाबले जनकपुरधामको इतिहास हजारौँ वर्ष पुरानो रहेको प्रमाणित हुन्छ । मिथिलामाथी शासन गरेका शिरध्वज जनक आध्यात्मवादी थिए । आफ्नो आध्यात्मिक चेतनाकै कारण राजर्षिको उपाधी पाएका थिए । उनलाई विदेह को उपमा समेत दिइएको थियो । त्यसैले मिथिलालाई विदेह नामले समेत चिनिन्छ । जनकपुरधाम माता सीताको जन्मथलो समेत हो । यसका साथै तत्कालिन समयका विद्वानहरु याज्ञवल्क्य, अष्टाबक्र, शुकदेवजस्ता ऋषिमुनिहरू सत्संगको थलो समेत जनकपुरधाम नै रहेको विभिन्न ग्रन्थहरुमा उल्लेख पाइन्छ ।
मिथिला हिन्दुहरूका लागि मात्र नभई जैन धर्मावलम्बीहरूका लागि पनि त्यति नै आस्थाको केन्द्र रहेको छ । जैन धर्मका १९औँ तीर्थंकर मल्लिनाथ र २१औँ तीर्थंकर नमिनाथको जन्म र उनीहरूका चार कल्याणक यही सम्पन्न भएको भारतको दिगम्बर जैन तीर्थमा उल्लेख छ ।
विभिन्न श्रोतहरुलाई आधार मान्ने हो भने मिथिलालाई देशको रुपमा इसापूर्व ६०० वर्षसम्म अस्तित्व प्राप्त थियो । त्यसपछि मगधका राजा अजातशत्रुले मिथिलामाथि आक्रमण गरी आफ्नो राज्यमा मिलाइदिए । कालान्तरमा मिथिलामा हर्षवद्र्धन र अरुणाश्वको अधिकार कायम भयो । विसं ११५४ मा कर्नाटवंशीय न्यान्यदेवले सिमरौनगढलाई आफ्नो राजधानी बनाई राज्य स्थापना गरेपछि पुनः मिथिला विश्व पटलमा उदाएको देखिन्छ ।