जनकपुरधाम ।
पछिल्ला केही वर्षयता पुरुषहरुमा बाँझोपनको समस्या ह्वात्तै बढेको पाइएको छ । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार नेपालमा विवाहित १० देखि १५ प्रतिशत दम्पती बाँझोपनबाट प्रभावित भइरहेका छन् । प्रसूति अस्पतालमा मात्रै गत वर्ष निःसन्तान उपचार कक्षमा ८ हजारभन्दा धेरैले सेवा लिएका छन् । अन्य निसन्तान सेन्टरहरूमा त्यही अनुपातमा सेवा लिनेहरू छन् । बर्सेनि यो संख्या बढ्दो क्रममा छ ।
बाँझोपनको बढ्दो समस्या नेपालमा मात्रै होइन, विश्वमै देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले नै बाँझोपन विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा रहेको उल्लेख गरेको छ । डब्ल्यूएचओको पछिल्लो अध्ययनले १७.५ प्रतिशत युवायुवतीमा बाँझोपनको समस्या रहेको देखाएको छ । अर्थात्, ६ जोडीमध्ये एक जोडीमा बाँझोपनको समस्या देखिन्छ । यो समस्या उच्च आय भएका देशमा झन् धेरै देखिएको छ ।
बढ्दो बाँझोपनको प्रमुख कारण ढिलो विवाह रहेको प्रजनन् विशेषज्ञ डा. नेहा हुमागाईंको भनाइ छ । ‘पछिल्ला दिनमा ढिलो विवाह गर्ने प्रचलनले पनि प्रजनन् क्षमतामा कमी आउन थालेको छ । २० देखि ३० वर्षसम्म बच्चा जन्माउने उपयुक्त उमेर हो,’ नेहा भन्छिन्, ‘तर, अहिले पहिला करिअर त्यसपछि विवाह भन्ने सोच विकास भइरहेको छ । जसले गर्दा युवायुवतीहरू ३०–३५ वर्षमा बल्ल विवाह गर्छन् । यसले गर्दा महिलामा अण्डाको गुणस्तरमा ह्रास आउने र अण्डाको उत्पादन नै कम हुँदै जान्छ ।’
धेरै तापक्रममा बस्ने पुरुषमा बाँझोपन देखिने डा. नेहाको भनाइ छ । उनको अनुभवमा खाडी मुलुकमा रोजगारीको लागि गएका पुरुषमा अहिले बाँझोपन प्रमुख समस्याको रूपमा देखिएको छ । ‘उच्च तापक्रमका कारणले गर्दा अण्डकोषले वीर्य राम्रोसँग उत्पादन गर्न सक्दैन,’ डा. नेहा थप्छिन्, ‘सहरी क्षेत्रमा काम गर्ने ड्राइभर, कुक लगायत मानिसमा वीर्यको क्षमतामा ह्रास आएको छ ।’
केही वर्ष अगाडिसम्म १५ प्रतिशत विवाहित दम्पतीमा बाँझोपनको समस्या भएको अनुमान गरे पनि अहिले यो संख्या २५ प्रतिशतबाट उकालो लागेको डा. नेहाको भनाइ छ । नेपालमा अहिलेकै क्रममा विदेश जाने अवस्था रहिरहे बाँझोपनको भयावह अवस्था सिर्जना हुने डा. नेहाको दाबी छ ।