सिरहा, १० मंसिर । सिरहा प्रहरीले युरोपेली मुलुक क्रोयसिया पठाइदिन्छु भन्दै ठगी गर्ने वैदेशिक रोजगार सम्बन्धी कसुरमा संलग्न आरोपी दलाललाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिका ३ महेशपुरपतारी घर रहेका करिब ३५ वर्षीय साविर मलंग रहेको जिल्ला प्रहरी कार्यालय सिरहका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए । उनका अनुसार मलंगलाई महेशपुरपतारस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले बिहीबार दिउँसो १२ बजेतिर गाउँघरमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको हो ।
पक्राउ गरिएका दलाल मलंगलाई शुक्रबार बिहान विभागमा उपस्थित गराउने गरी बिहीबार राती काठमाडौं लगिने इलाका प्रहरी कार्यालय महेशपुरपतारका प्रमुख प्रहरी निरीक्षक गोविन्दलाल कर्णले बताए । प्रहरी निरीक्षक कर्णका अनुसार २०८० भदौ १२ र १५ गते विभागको अनुसन्धान तथा मुद्दा शाखाबाट महेशपुरपतार प्रहरीको नाममा वैदेशिक रोजगार कसुर सम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गरी स्वास्थ्य परीक्षणसहित विभागमा उपस्थित गराइदिन पत्राचार भए बमोजिम पक्राउ गरी पठाइएको हो । विभागले उनकी श्रीमती करिब २८ वर्षीया कुरेस खातुनलाई समेत पक्राउ गरी पठाइदिन भनेपनि फरार रहेकाले खोजी भइरहेको र पक्राउ परे लगत्तै पठाइने उनले बताए ।
नेपालदेखि भारतसम्म ठगी भारतको नयाँ दिल्ली ६९÷जीएफ इस्लाम कोलोनीमा पनि बस्ने गरेका मलंगले कैलालीको घोडाघोडी नगरपालिका २ घर भएका अर्जुन वि.क. भनेर चिनिने चिता अर्जुन कामीलाई सहायक दलाल बनाएर नेपालका विभिन्न जिल्लाका झण्डै पचास जनासँग एक करोड ६२ लाख रुपैयाँ ठगी गरेको बताइएको छ ।
आकर्षक तलबसहित क्रोयसिया पठाउँछु भन्दै कामीमार्फत् मलंगले दाङ्का छ जनाबाट साढे २२ लाख, भारतको दिल्ली पुर्याएर अछामका पाँच जनासँग १६ लाख, इलामका एक जनासँग २३ लाख, धरानका दुई जनासँग सात लाख र सिरहाको लहान क्षेत्रका तीन जनाबाट सात लाख रुपैयाँ असुलेको एक पीडितले बताए । त्यस्तै, मलंगले चितवनका चार जनाबाट १३ लाख, स्याङ्जाका चार जनाबाट आठ लाख, सुर्खेतका दुई जनाबाट आठ लाख, काठमाडौंका एक जनासँग सात लाख, कास्कीका २३ जनाबाट ५० लाख रुपैयाँ लिएर आजभोलि भन्दै फोन समेत नउठाई फरार भएपछि पीडितमध्ये बागलुङ्का एक पीडितले श्रीमतीमार्फत् वैदेशिक रोजगार सम्बन्धी कसुरमा गत ४ असारमा विभागमा उजुरी गरेका थिए ।
विभिन्न माध्यमले अर्जुनको सम्पर्कमा पुग्ने गरेका व्यक्तिहरुलाई उनकी श्रीमतीलाई पोर्चुगल पठाएर राम्रो कमाइ गरिरहेको भन्दै लोभ्याएर मलङ्गले आफ्नी श्रीमती कुरेशको बैंक खातामा रकम उठाउँदै आएको पीडितहरुको भनाई छ । अछामका पाँच जनाले भारतको प्रथम तल नयाँ दिल्ली ३० महरौली थानामा समेत अर्जुनमार्फत् मलंगले वैदेशिक रोजगारीको नाममा धोकाधढी गरेको भन्दै १७ जुन २०२३ मा उजुरी दर्ता गएका थिए ।
भारतको गुजरातमा काम गर्दै आएका अछामका पाँच जनालाई नयाँ दिल्ली बोलाएर नगद छ लाख र अनलाइनमार्फत् चार लाख गरी १० लाख भारतीय मुद्रा लिएर आजभोलि भन्दै मलंग फरार भएको पीडितले बताए । विभागले सिरहा प्रहरीलाई मलंग र उनकी श्रीमतीलाई पक्राउ गरी विभागमा हाजिर गराउन पत्राचार गरेपछि पटक पटक खोजतलासका लागि उनको गाउँ पुग्ने प्रहरीको आँखा छलेर लुकीछिपी बस्दै आएका थिए