

नयाँ दिल्ली ।
चिकित्सकहरू यस्लाई एक ‘निर्दयी बिडम्बना’ भन्ने गर्छन्। एकातिर एन्टिबायोटिक्सको अत्यधिक प्रयोग गरिएकाले तिनको प्रभाव न्यून हुने देखिएको छ र औषधी प्रतिरोधी क्षमता धेरै भएका घातक किटाणुको वृद्धि भइरहेको छ। अर्कोतिर जीवन जोगाउने औषधिसम्म पहुँच नभएका कारण मानिसहरू मरिरहेका छन्। ग्लोबल एन्टिबायोटिक रिसर्च एन्ड डिभेलपमेन्ट पार्टनरशीप (जीएआरडिपी)द्वारा मध्यम आय भएका भारत, ब्रजिल र दक्षिण अफ्रिकासहित आठ देशमा गरेको नयाँ अध्ययनले कार्बापेनेम-रेसिस्टेन्ट ग्राम नेगेटिभ (सीआरजीएन) सङ्क्रमणका १५ लाख मामिलामा एन्टिबायोटिक्सको पहुँचका सम्बन्धमा अध्ययन गरिएको थियो। सीआरजीएन भनेका ‘सुपरबग्स’ भनिने त्यस्ता ब्याक्टेरिया हुन जो अन्तिम पङ्तिका शक्तिशाली एन्टिबायोटिक्सले पनि नियन्त्रित हुँदैनन् – तर ती देशहरूमा केवल ६.९% त्यस्ता बिरामीले मात्र उचित उपचार पाएका थिए।
ती देशमध्ये सबभन्दा धेरै सीआरजीएन सङ्क्रमण भारतमा रहेको पाइयो। तर भारतमा एन्टिबायोटिक्सका पूर्ण मात्रा ‘फुल कोर्स ‘को ८०% आपूर्ति गरिए पनि अनुमानित सङ्क्रमितमध्ये केवल ७.८%को मात्रै उपचार हुन सकेको द ल्यान्सेट इन्फेक्सस् डिजिजेज जर्नलमा प्रकाशित एक अध्ययनमा देखिएको छ। (एन्टिबायोटिक्सको फुल कोर्स औषधि भन्नाले निश्चित् समयमा सङ्क्रमणबाट पूरै निको हुन बिरामीलाई आवश्यक पर्ने औषधिहरूको पूर्ण मात्रा हो।)
औषधि प्रतिरोधी सङ्क्रमणको उपचार कठिन
पानी, खाना, बाह्य वातावरण तथा मानिसको पेटमा पाइने ग्राम नेगेटिभ ब्याक्टेरियाले मूत्रनलीको सङ्क्रमण (युटिआई), निमोनिया तथा ‘फुड पोइजनिङ्’ गराउँछ। नवजात शिशु तथा वृद्धवृद्धालाई त्यसले गम्भीर खतरा उत्पन्न गराउन सक्छ। अस्पतालमा भर्ना भएका कमजोर रोग प्रतिरोधी क्षमता भएका बिरामीहरू सबभन्दा धेरै जोखिममा हुन्छन्। यो सङ्क्रमण सघन उपचार कक्षहरूमा द्रुत गतिले फैलन्छन् र कतिपय अवस्थामा उपचार गर्न कठिन हुन्छ। कार्बापेनम रेसिस्टेन्ट ग्राम नेगेटिभ ब्याक्टेरियल सङ्क्रमणको उपचार त झन् दोबर गाह्रो हुन्छ किनभने यी ब्याक्टेरियालाई कतिपय सबभन्दा शक्तिशाली भनिएका एन्टिबायोटिक्सले पनि छुँदैन।
“यी सङ्क्रमण सबै उमेर समूहका निम्ति दैनिक वास्तविकता बनेको छ,”भारतको चेन्नई सहरस्थित अपोलो अस्पतालका सङ्क्रामक रोग विशेषज्ञ डा अब्दुल गफुरले भने। “कुनै पनि एन्टिबायोटिक्सले काम नगर्ने बिरामीहरू हामी बारम्बार देख्छौँ – र ती मर्छन्।” यो बिडम्बना साँच्चिकै निर्दयी छ। एकातिर संसारले एन्टिबायोटिक्सको अधिक प्रयोग रोक्न खोजिरहेको छ भने अर्कोतिर गरिब देशहरूमा उपचार गर्न सकिने सङ्क्रमणबाट पनि मानिस मरिरहेका छन् किनकी तिनको पहुँचमा ती एन्टिबायोटिक्स छैनन्।
“वर्षौँ देखि एन्टिबायोटिक्सको अधिक प्रयोग भइरहेको चर्चा चलिरहेको छ तर वास्तविकता के हो भने न्यून तथा मध्यम आय भएका देशहरूमा औषधि प्रतिरोधी सङ्क्रमणले ग्रसित मानिसहरूसँग तिनलाई आवश्यक पर्ने एन्टिबायोटिक्ससम्म पहुँच छैन,”जीएआरडिपीकी ग्लोबल एक्सेस डिरेक्टर तथा उक्त अध्ययनकी वरिष्ठ शोधकर्ता डा जेनिफर कोहनले भनिन्।
कार्बापेनेम प्रतिरोधी ब्याक्टेरियाविरुद्ध उपयोग भइरहेका सुईबाट दिइने आठ थरी औषधिको प्रयोगलाई अध्ययन गरिएको थियो – कोलिस्टिन जस्ता पुरानादेखि लिएर सेफ्टाजाइडिम-एभिब्याक्टामजस्ता नयाँ सम्म। सबभन्दा धेरै प्रयोग चाहिँ टाइगेसाइक्लीनको भएको पाइयो।
कमजोर स्वास्थ्य उपचार प्रणाली तथा उपयोगी एन्टीबायोटिक्समा सीमित पहुँचका कारण उपचार प्रभावकारी हुन नसकेको शोधकर्ताहरूले औँल्याएका छन्। उदाहरणका लागि, ती आठ देशमा टाइगेसाइक्लीनको केवल १०३,६४७ फुल कोर्स मगाइएका पाइयो – १५ लाख बिरामीलाई चाहिनेभन्दा निकै कम। औषधि-प्रतिरोधी सङ्क्रमणको उपचार गर्ने क्रममा रहेको ठूलो कमजोरीलाई यसले उजागर गर्छ।
पहुँच र दुरुपयोगको दोहोरो समस्या
भारतमा औषधि प्रतिरोधी सङ्क्रमणका बिरामीहरूको पहुँचमा सही एन्टिबायोटिक्स पुर्याउन के ले रोकिरहेको छ? डाक्टरहरूले कैयन् अवरोध औँल्याउँछन् – सही उपचार केन्द्रसम्म बिरामीको पहुँच, रोगको सही निदान, तथा प्रभावकारी औषधिसम्म पहुँच। उपचार खर्च पनि एक मुख्य चुनौती हो किनभने यस्ता कैयन् एन्टिबायोटिक्सको मूल्य गरिब बिरामीको पहुँचभन्दा पर छ।
“जसले किन्न सक्छन् तिनले अधिक प्रयोग गर्छन्; जसले सक्दैन्न तिनले प्रयोगै गर्न पाउँदैनन्,” डा गफुरले भने। “हामीलाई यस्तो प्रणालीको आवश्यकता छ जसमा गरिबले पहुँच पाउन् अनि धनीले आवश्यकभन्दा अधिक प्रयोग गर्न नसकून्।” पहुँच वृद्धि गर्न यी औषधि सस्तो हुनुपर्छ। दुरुपयोग रोक्न चाहिँ कडा नियमन आवश्यक छ।
“सकिन्छ भने अस्पतालबाट हुने एन्टीबायोटिक्सको हरेक सिफारिसमा दोस्रो दस्तखत पनि आवश्यक बनाइयोस् – कुनै सङ्क्रमण विशेषज्ञ वा माइक्रोबायोलोजिस्टको,” डा गफुरले भने। “केही अस्पतालमा यो चलन छ तर धेरैमा छैन। सही अनुगमनबाट नियामकहरूले यसलाई स्वाभाविक अभ्यास बनाइदिन सक्छन्।”
राम्रा नीति तथा कडा नियमनहरूले पहुँच र दुरुपयोगको समस्या सम्बोधन हुन सक्ने शोधकर्ताहरूले भनेका छन्। तर पहुँचले मात्र पनि सङ्कट समाधान हुने छैन – नयाँ किसिमका एन्टिबायोटिक्सको विकास भइरहेको छैन। एन्टिबायोटिकको अनुसन्धान तथा विकासमा भएको गिरावट – तथा विद्यमान औषधिको सीमित उपलब्धता – संसारभरि देखिएको समस्या हो। एन्टि माइक्रोबियल रेसिस्टेन्स (एएमआर)को विश्वभरिको भारको ठूलो हिस्सा भारतले बहन गरिरहेको छ। तर देशभित्र र बाहिर पनि यो समस्यालाई सम्बोधन गर्न सक्ने क्षमता भारतसँगै रहेको शोधकर्ताहरू बताउँछन्।
“नयाँ एन्टिबायोटिक्सको सबभन्दा ठूला बजारमध्ये एक भारत हो। उसले नयाँ एन्टिबायोटिक्सका विकास तथा पहुँचबारे सफलतापूर्वक पैरवी गर्न सक्छ,” डा कोहनले भने। औषधि उद्योगको सशक्त उपस्थितिका कारण भारत एएमआरको उपचारको केन्द्रको रूपमा उदाउँदैछ, नयाँ एन्टिबायोटिक्स विकास गर्नेदेखि लिएर अत्याधुनिक रोग निदानको विकाससम्म। डा कोहन भन्छन् भारतले स्थानीय डेटाको उपयोग गरेर आवश्यकताको सही अनुमान गर्न र उपचारमा रहेका कमजोरी पहिल्याउन सक्ने बताए।
यसले लक्षित हस्तक्षेप गरेर सही औषधिसम्मको पहुँच सुधार्न मद्दत पुग्ने उनले बताए। उदाहरणका लागि केरल राज्यले तल्लो तहका उपचार केन्द्रहरूलाई गम्भीर सङ्क्रमण व्यवस्थापन गर्न सघाउने गरि नयाँ प्रणालीको विकास गरेको छ। अस्पतालहरू वा राज्यहरूको समन्वयमा आवश्यक खरिद वा आपूर्ति गर्ने गरियो भने नयाँ एन्टिबायोटिक्सका खर्च पनि घट्न सक्ने शोधकर्ताहरूले बताए। सही एन्टिबायोटिक्ससम्म पहुँचविना आधुनिक औषधि प्रणाली बेकामे हुन थाल्छन् – डाक्टरहरूले सुरक्षित शल्यक्रीया गर्न, क्यान्सर बिरामीहरूमा हुने जटिलताको उपचार गर्न वा दिनहुँ देखापर्ने सङ्क्रमण उपचार गर्न सक्दैनन्।
“एकजना सङ्क्रामक रोगको डाक्टरका रूपमा उचित प्रयोगलाई म पहुँचको एउटा – मात्र एउटा – पाटो मान्छु,” डा गफुरले भने। “जब हामी नयाँ एन्टिबायोटिक्स पाउँछौँ तिनलाई एकातिर जोगाउन जरुरी हुन्छ – सही बिरामीका लागि जोगाउन।” स्पष्ट छ, चुनौती एन्टिबायोटिक्सको बुद्धिमतापूर्ण प्रयोगमात्र होइन, बरु त्यसको सबभन्दा धेरै आवश्यकता परेको बिरामीसम्म पहुँच सुनिश्चित् गर्नु पनि हो।
बीबीसी को सहयोगमा
