धनुषामा दुई चरणमा किशोरीहरुलाई एचपीभी खोप दिइने

५६ हजार बढी किशोरीलाई खोप दिने लक्ष्य





जनकपुरधाम ।
धनुषा जिल्लामा क्यान्सर रोग विरुद्धको एचपीभी खोप दुई चरणमा लगाइने भएको छ ।
स्वास्थ्य कार्यालय धनुषाले धनुषा जिल्लाका १८ वटै स्थानीय तहमा दुई चरणमा गरी एचपीभी खोप लगाउने तयारी गरेको हो । धनुषाका ५६ हजार २ सय ८२ जना किशोरीलाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय धनुषाका प्रमुख, स्वास्थ्य प्रशासक उमेश यादवले जानकारी दिए । खोप कार्यक्रमलाई प्रभावकारी बनाउन ५ सय ४२ खोप केन्द्र निर्धारण गरिएको उनले बताए ।
१० देखि १४ वर्षसम्मका किशोरीहरूलाई दिने यो खोप कार्यक्रम अगामी आर्थिक वर्षदेखि नियमित खोप कार्यक्रममा शामील गरिने उनले बताए ।
यस पटक धनुषा जिल्लाका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरूमा खोप केन्द्र रहने छन् । पहिलो चरणमा नेपाल भरिमा माघ २२ गतेबाट हुने भए पनि धनुषामा सरस्वतीको मूर्ति विसर्जन हुने भएकाले २३ गतेदेखि पहिलो चरणको अभियान शुरु गरेर माघ २९ गतेसम्म जनकपुरधाम उपमहानगरपालिका, नगराईन, हंशपुर, मिथिला, गणेशमान चारनाथ नगरपालिका र मुखियापट्टी मुसहरनीया, लक्ष्मीनिया तथा वटेश्वरमा एचपिभि खोप लगाइने छ ।
दोस्रो चरणमा फागुन १ गतेदेखि फागुन ६ गतेसम्म विदेह, कमला, शहिदनगर, सवैला, धनुषाधाम, मिथिला विहारी नगरपालिका र धनौजी, औरही, जनकनन्दनी गाउँपालिकामा खोप दिने कार्यक्रम रहेको छ ।