

जनकपुरधाम ।
निजि विद्यालयका प्रतिनिधि र जनकपुरधाम उपमहानगरपालिका बीचको वार्ता बैठक आज पनि विना निष्कर्ष सम्पन्न भएको छ । सो बैठकमा मेयर मनोज साह र निजि विद्यालयका संगठनहरुले आ आफना अडानमा देखिएपछि शनिबारको बैठकमा पनि कुनै टुंगो नलागेका सहभागिहरुले बताएका छन् ।
हाम्रो मांगलाई नजरअन्दाज गरेसम्म वार्ता सफल हुन नसक्ने एनप्याब्सन जनकपुरधामका नगरअध्यक्ष दीपक ठाकुरले बताएका छन् । उनले संस्थागत विद्यालयसँगको विभेदपूर्ण नीति आफूहरुलाई अमान्य रहेको बताए ।
उनले भने, ‘निःशुल्क शिक्षाको नीति सामुदायिक विद्यालयहरुमा पनि लागू हुनुपर्छ । उनीहरुले पनि परीक्षालगायत विद्यालयमा अन्य गतिविधिको नाममा पैसा उठाउन पाउनु हुन्न । हामी संस्थागत विद्यालयहरुमाथि मात्र दोष लगाउनु उचित होइन ।’ ठाकुरले जनकपुरधाम उपमहानगरपालिकालाई शिक्षासम्बन्धी कार्यविधि बनाउनसमेत माग गरे ।
बैठकमा जनकपुरधाम उपमहानगरपालिका नगरप्रमुख मनोज साह, उपप्रमुख किशोरी साह, धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी, उपमहानगरका अधिकारीहरु, जिल्ला प्रहरी कार्यालयको प्रतिनिधि, शिक्षा समन्वय ईकाईका प्रमुख, हिसान, प्याब्सन, एनप्याब्सन, मधेस प्याब्सनका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
निजि विद्यालयहरुसंग समन्वय नै नगरी कक्षा ११ र कक्षा १२का विद्यार्थीहरुको छात्रवृति सम्बन्धि सम्झौता गरेपछि निजि विद्यालयका संगठनहरु आन्दोलित भएका थिए भने नेविसंघ समेत सो सम्झौता कार्यान्वयनको माग गर्दै सडकमा उत्रेका छन् । निजि विद्यालय तथा विद्यार्थीहरुको आन्दोलनका कारण केही दिनदेखि विद्यालय बन्द रहेको छ ।
शनिबार जनकपुरधाम उपमहानगरपालिका र आन्दोलनरत पक्षबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएपछि शैक्षिक संस्थाहरु सञ्चालन हुने छाँटकाँट नदेखिएको हो ।
