

जनकपुरधाम ।
निजि विद्यालयका संगठनहरु अन्तर्गत रहेको जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका सम्पूर्ण निजि विद्यालय सोमबारदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरेको छ । कक्षा ११ र कक्षा १२मा अध्ययनरत विद्यार्थीहरुको हकमा उपमहानगर र नेपाल विद्यार्थी (नेवि) संघबिच भएको सम्झौता सच्याउन आग्रह गरिएपनि वेवास्ता गरिएकाले विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको निजि विद्यालयका संगठनहरुले जनाएको छ ।
हिसान, प्याब्सन तथा एनप्याब्सनले संयुक्त विज्ञप्ति जारी गर्दै उपमहानगरले आफूहरुको माग कार्यान्वयन नगरेसम्म विद्यालयहरु बन्द रह्ने जनाएको छ । विज्ञप्तिमा भनिएको छ ‘नगर भित्र सञ्चालित संस्थागत विद्यालयहरुमा ’छात्रवृत्ति वितरण व्यवस्थापन समिति’ मिति २०८१÷०५÷१३ गतेको निर्णयानुसार छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१/०५/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पून २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने भएकाले यसलाई सच्याउन उपमहानगरलाई पत्रमार्फत आग्रह गरिएको थियो ।’ यद्यपि उपमहानगरपालिकाले पत्रअनुसार केही पहल नगरेकाले सम्पूर्ण निजि विद्यालय मंसिर ३ गतेदेखि बन्द गर्न बाध्य भएका छौँ विज्ञप्तिमा भनिएको छ ।
