सुजीतकुमार झा
जनकपुरधाम
भगवान् अनन्तको पूजा जनकपुरधाम सहित पूरै मधेश प्रदेशमा मंगलवार सम्पन्न भएको छ । अनन्त चतुर्दशी भनिने यो पर्वमा भगवान अनन्तको आराधना गरेर श्रद्धापुर्वक व्रत बस्नुका साथै विशेष पूजागर्ने परम्परा रहेको पुरहित्याई पेशासंग आवद्ध पण्डित राकेश मिश्रले वताए ।
भदौ शुक्ल पक्षको चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ । धार्मिक मान्यता अनुसार जब पाण्डवहरुले जुवामा आफ्ना सारा सम्पत्ति र सम्मान हारेपछि उनीहरु जङ्गलमा श्रीमती द्रौपदीसँग कष्टकर जीवन बिताउदै थिए । त्यसबेला भगवान श्रीकृष्णले युधिष्ठिरलाई आजको दिन श्रद्धापुर्वक व्रत बस्न सल्लाह दिएका थिए । भगवान श्रीकृष्णको सल्लाह मान्दै पाँच पाण्डवले विधिपूर्वक अनन्त चतुर्दशीको व्रत बसे र यसै व्रतको प्रभावले पाण्डवहरूले आफ्नो कष्टकर जीवनबाट मुक्ति पाएको विभिन्न धार्मिक ग्रन्थमा उल्लेख रहेको छ ।
श्रावण शुक्ल पूर्णिमाका दिन अर्थात जनैपूर्णिमाको दिन कुनै कारणवश जनै (यज्ञोपवीत) मन्त्रन नपाएकाले आजै मन्त्रने गरेका छन् । आज चोखो धागोमा अनन्त मन्त्रण गरी बाँध्नाले वर्षभर शुभफल प्राप्त हुने धार्मिक विश्वास रहेको छ । यसरी बाधिने धागोलाई ‘अनन्त सूत्र’ भनिने गरिन्छ । यस सूत्रमा हुने चौधवटा गाठोलाई चौधवटा लोकको प्रतिक मानिन्छ । यो सूत्र पुरुषहरुले दाहिने हातमा बाध्ने गरेका छन् भने महिलाहरुले यसलाई बाया हातमा बाध्ने गरेको मान्यता रहेको सांस्कृतिकविद् डा. रेवतीरमण लालले वताए ।
हिन्दु धर्मका जानकारहरुका अनुसार आजको दिन कुनै पनि शुभ कार्यको थालनी गर्नलाई उत्तम मानिन्छ ।
भगवान् विष्णुका हजारवटा नाममध्ये ‘अनन्त’ पनि एउटा हो । यो अनन्तव्रत कम्तीमा चौध वर्षसम्म गर्नुपर्ने मान्यता रहेको छ । यसरी चौध वर्ष पुगेपछि उद्यापन गरी व्रत समाप्त गर्ने गरिन्छ । तर यस व्रतलाई आजीवन गर्नेहरू पनि मिथिलाञ्चलमा अत्यधिक रहेका छन् ।
यस व्रतको आरम्भ दुई प्रकारले गरिएको पाइन्छ । प्रथमतः हिंड्दा वा डुल्दै जाँदा बाटोमा कहीं कतै अनन्तको धागो भुइँमा खसेको भेटिएमा त्यसलाई उठाएर ढोगेर राख्ने गरिन्छ तथा यसरी अनन्तको धागो भेटिनुलाई अनन्तव्रत गर्नु भनी भगवानको आदेश भएको भनेर मान्ने गरिन्छ । यसरी अनन्तको धागो भेटिएको बखतपश्चात् आउने भाद्र शुक्ल चतुर्दशी तिथि अर्थात् अनन्तव्रतका दिनदेखि यो व्रत गर्ने गरिन्छ । दोस्रोमा, आफनो कुनै मनोकामना पूर्तिका लागि भगवानसित विनती गरी मनोकामना पूर्ण भएमा अनन्तव्रत गर्नेछु भनी भाकल गरिन्छ ।
यसरी मनोकामना पूर्ण भएपछि भने यो व्रत गर्ने गरिन्छ । यस व्रतका दिन विशेष प्रकारले चौधवटा गाँठो पारेर तयार पारिएको धागोलाई पूजा गरिसकेपछि धारण गर्ने गरिन्छ, जसलाई ‘अनन्तको धागो’ भनिन्छ ।
अनन्तव्रतको आरम्भ भाद्र शुक्ल त्रयोदशी तिथिका दिनदेखि नै भएको हुन्छ । यस दिन ‘खरना’ गरिन्छ । खरनाका लागि माटोको नयाँ एकचुल्हिया बनाइन्छ, जसमा तलतिर पींधसमेत बनाइन्छ । यसरी पींधसहित बनाइएको चुलोमा गुडका साथ खीर पकाइन्छ । त्यसपछि भगवान्लाई नैवेद्य चढाएर प्रसाद ग्रहण गरिन्छ । यस दिन व्रतार्थी दिनको समयमा एकपटक नै प्रसादग्रहण गर्दछन् । यस्तो खरना गर्ने विधि मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व छठीको अवसरमा पनि गरिन्छ ।
पूजा विधि
आज प्रातस्कालमा स्नानआदि नित्यकर्म गरेर शुद्ध चित्त भई पूजन सामग्री तयार गर्नु पर्दछ । सर्वप्रथम कलश स्थापना गरि त्यसमा अष्टदल बनाएर राख्ने अनि कुशको अनन्त भगवान बनाएर स्थापना गर्नुपर्दछ । कलश समक्ष चौध गाठो भएको अनन्त सूत्र राखेर कुश लिएर भगवान अनन्तनाथ (भगवान विष्णु) को शुद्ध चित्तले पूजा आराधना गर्नुपर्दछ । तत्पश्चात धूप, दिप, नैवेद्य र अक्षता लिएर भगवान अनन्तको पूजा गर्नुपर्दछ । व्रतार्थी ठाउँ, अरिपन गरिएको पूजास्थानमा पूर्वाभिमुख बस्दछन् । यजमानको दाहिने भागमा पर्ने गरी, पूजास्थलको दक्षिणतिर, पुरोहित उत्तराभिमुख भएर बसेका हुन्छन् । यस दिनको अरिपनमा ‘अष्टदल’ अरिपन लेखिन्छ । त्यहाँ डालीमा अनन्तको धागोसहित पक्वान्न, मिष्टान्न तथा ऋतुफलहरू राखिएका हुन्छन् । यस दिनको नैवेद्यमा सकेसम्म चौध प्रकारका वस्तुहरू राखिने गरिन्छन् । पुरोहित आउँछन् र पूजाको आरम्भ हुन्छ ।
त्यहाँ कलशस्थापन गरी विधिवत् पञ्चोपचारसहित पञ्चदेवता, विष्णुपूजा, गणेशपूजा, अनन्तपूजा, बलभद्रपूजा, सुमन्तपूजा, दीक्षापूजा, इन्द्रादि दशदिक्पालपूजा, नवग्रहपूजा आदि सकेपछि भगवान् विष्णुका ऋषिकेश, पद्मनाभ, अच्युत, केशव, माधव, नारायण, वासुदेव, श्रीधर, प्रद्युुम्न, त्रिविक्रम, मधुसूदन, वामन, दामोदर, गोविन्द आदि चौधवटा नामले पूजा गरिन्छ । त्यसपछि कथा सुनाइने गरिन्छ ।
अन्त्यमा आफुले चिताएको मागेर आफ्नो गक्ष अनुसार ब्राह्मणलाई दान दिनु शुभ हुन्छ । पूजा पछि कलश समक्ष राखेको अनन्त शुत्र आफुले बाध्नाले अनन्त भगवान प्रशन्न भइ शुभ फल प्रदान गर्ने मान्यता छ । खासगरी अनन्त चतुर्दशीको पूजा दिउसोको समयमा गर्नुलाई उत्तम मानिन्छ ।
पुत्रको चाहना राख्ने या आर्थिक अभावमा गुजारा गरिरहेका मानिसहरुलाई आजको दिन व्रत विशेष फलदायी रहने गरेको छ ।
अनन्त कथा
अनन्तपूजाको अवसरमा भनिने कथा श्रीकृष्ण र युधिष्ठिरबीच भएको संवादको स्वरूपमा अभिव्यक्त गरिएको पाइन्छ । सत्ययुगमा सुमन्तु ब्राह्मणकी धर्मपत्नी दीक्षाबाट उत्पन्न कन्या शीलाको विवाह कौण्डिन्य मुनिसित भएको थियो । कौण्डिन्य आफनी धर्मपत्नीका साथ ससुरालीबाट बिदा भएर जाँदै गर्दा बाटोमा यमुना नदीको किनारामा केही महिलावर्गद्वारा भगवान् अनन्तको पूजा गरिएको देखेर उनकी धर्मपत्नी शीलाले जिज्ञासा गर्दा यस व्रतबारे थाहा पाइन् एवं उनले पनि यो व्रत र पूजा गर्ने निश्चय गरिन् । यसरी गर्दा यस व्रतको प्रभावले उनीहरूलाई धन, धान्य र समृद्धि प्राप्त भयो ।
कथामा अगाडि भनिएको छ एक दिन कौण्डिन्यको ध्यान आफनी धर्मपत्नीको देब्रे पाखुरामा बाँधिएको अनन्तको धागोमा गयो र यिनले मलाई वशमा पार्ने कुनै अनुष्ठान गरी यो धागो बाँधेकी रहिछन् भनी विचार गरी त्यो धागोबारे पत्नीसित सोधनी गर्दा पत्नीले यो भगवान् अनन्तको प्रसाद हो, जसबाट धन, धान्य लाभ भएको हो भनी जवाफ पाउँदा त्यसमाथि विश्वास नगरी त्यस धागोलाई चुँडालेर आगोमा मिल्काइदिए ।
त्यसपछि शीलाले हाहाकार गर्दै त्यो धागोलाई अग्निबाट झिकेर दूधमा राखिदिइन् । कौण्डिन्यको यस कार्यबाट श्री, समृद्धिको क्षय हुन थाल्यो र उनको घरमा दरिद्रताको बास भयो । पछि जब उनलाई आफनो कुकृत्यबारे ज्ञान भयो, तब उनी अत्यन्त दुःखी भएर भगवान् अनन्तलाई पुनः प्राप्त गर्ने उद्देश्यले खोज्दै हिंडेको कथामा उल्लेख रहेको छ ।
हिडदा बाटोमा आँपको बोट, बाछोसहित गाई, साँढे, दुईवटा पोखरी, गदहा, हात्ती इत्यादिसित भगवान बारे सोध्दै जाँदा नकारात्मक उत्तर पाएर अन्त्यमा निराश हुँदा स्वयम् भगवान् वृद्ध ब्राह्मणको रूपमा दर्शन दिएर उनको दुःखलाई नाश गरेका थिए । भगवानले बाटोमा भेटिएकाहरूबारे उनको जिज्ञासाको समाधान पनि गरेका थिए । यसपछि, भगवानको आज्ञा अनुसार उनले अनन्तको व्रत र पूजा गरे तथा उनलाई पुनः धन, धान्यादि प्राप्त भएको कथामा भनिएको छ ।