Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

महोत्तरीको पुरानो र प्रतिष्ठित विद्यालयः श्री दुर्गा माध्यामिक विद्यालय मनरा





संजीव सिंह ।


तमसोमा ज्योतिर्गमय भन्ने मूल उद्देश्यका साथ स्थापित विद्यालय हो – श्री दुर्गा माध्यामिक विद्यालय मनरा । अंधकारबाट प्रकाशतर्फ जानु । आनन्दबाट परमानन्दतर्फ जानु । शिक्षाको ज्योतिले प्रकाशमय हुनु । प्रकाशमय भई ज्ञानी र गुणी बन्नु । नेपालको शैक्षिक इतिहासलाई अवलोकन गर्दा जहाँनिया राणा शासन काल वि.सं. २००२ सालमा स्थापित यो विद्यालयको आफ्नै गरिमा र महत्व छ । महोत्तरी जिल्लाको दक्षिण पश्चिमी भेगमा रहेको मनरा शिसवा नगरपालिका (प्रचलित नाम ः मनराकट्टी) वडा नं. १ अन्तर्गत मनरामा अवस्थित छ, श्री दुर्गा माध्यमिक विद्यालय । विद्यालयका संस्थापक हुन् – राम औतार सिंह ।
सिहंले पूर्ण एकल तथा निजी स्वामित्वमा विकासप्रेमी युवा शक्तिलाई संचित गरी करिब १० विग्हा जग्गा प्रदान गरी विद्यालयको शुरुवात गरेका थिए । ग्रामसेवक, राष्ट्रसेवक र आधुनिक विश्वको परिपेक्ष्यमा योग्य जनशक्ति उत्पादन गरी सबैको हकहितको कल्याण होस भन्ने उद्देश्यले यो विद्यालय संचालन भएको बताउँछन् संस्थापकका सुपुत्र सत्यनारायण सिंह । नेपालकै पुरानो विद्यालयमध्ये एक रहेको श्री दुर्गा मा. वि. ले आफ्नो स्थापनको ७५ औं वर्ष पार गर्दै इतिहास रचेको हो । सम्भवतः यति पुरानो विद्यालय हाल मुलुकमा संचालित अवस्थामा खोज्दा २÷४ वटा मात्र भेटिन्छ ।
नेपालको शिक्षाको इतिहास केलाउँदा आधुनिक शिक्षाको सुरुवात वि.सं. १९१० देखि भएको भेटिन्छ । काठमाडौंको थापाथली दरवारको दाख चोकमा वि.सं. १९१० असोज २७ मा स्थापित प्रथम अंग्रेजी स्कूल नै नेपालको पहिलो स्कूल हो । दरवार स्कूलको नामले परिचित यो स्कूलको स्थापना राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले बेलायत भ्रमणबाट फर्केपछि राणा खलका भाईभारदार र सन्तानहरुलाई पढाउनका निम्ति खोल्न लगाएका थिए ।
वि.सं. १९४२ मा सर्वसाधारणका लागि यो स्कूल खुल्ला गरिएको थियो । तत्पश्चात अनेकौं पहलहरु निजी स्तरमा भएपनि आधिकारिक पाठशालाको मान्यता कुनै विद्यालयले पाएन । वि.सं. १९३२ सालमा भोजपुरको दिङ्गलामा वालागुरु षडानन्दले संस्कृत पाठशाला खोलेका थिए । १९३४ सालमा रानीपोखरी पाठशाला, १९६२ सालमा बझाङी राजा जयपृथ्वी बहादुर सिंहले सत्यवादी स्कूल, १९७२ मा सिरहामा चन्द्र मिडिल स्कूल, १९९३ सालमा रौतहटको गौरमा श्री ३ जुद्ध हाई इंग्लीस स्कूल, १९९५ मा जुद्वोद्यय स्कूल लगायतको प्रमाणिक इतिहास भेटिन्छ ।
वि.सं. २००७ सालअघि नेपालको साक्षरता २% थियो । जुन अहिले करिब ७०% को हाराहारीमा छ । यद्यपी २००७ साल अगाडी दुर्गा मा.वि. को परिकल्पना र स्थापनाले मनराको गरिमा मुलुकमै बढाएको छ । शुरुवातमा सानो झुप्रोबाट संचालनमा आएको विद्यालयमा हाल भव्य र आधुनिक भौतिक भवन र संरचना छ । वि.सं. २००९ सालमा प्राथमिक तह स्वीकृती पाएको श्री दुर्गा विद्यालयले वि.सं. २०१० सालमा निम्न माध्यमिक तहको स्वीकृती पाएको थियो । नेपालमा एस.एल.सी बोर्ड गठन भएको ३० वर्ष पछि २०२१ सालमा विद्यालयले पहिलोपटक एस.एल.सी. मा सहभागीता जनाउँदैं उत्कृष्ट नतिजा समेत ल्याएको थियो ।
पहिलोपटकको एस.एल.सी नियमित तर्फ ४ जना र पुरक तर्फ २ जना गरी कूल ६ जना सहाभागि रहेको विद्यालयकै पूर्व विद्यार्थी तथा अवकास प्राप्त नापी अधिकृत सीताराम सिंहले बताए । सत्य नारायण तिवारी, मुकुन्द प्रसाद उपाध्याय र राम निवास ठाकुर (मनरा), जयनारायण यादव (पोखरभिन्डा) तथा हासिम अंसारी र अख्तर (बेला–एकडारा) एस.एल.सीमा सम्मिलित भएका थिए । तिवारी र उपाध्याय पहिलो श्रेणीमा तथा बाँकीले सफलतापूर्वक उत्तिर्ण गरेको समेत सिंहले प्रष्टाए ।
विद्यालयको प्रशासनिक, शैक्षिक र भौतिक संरचनालाई चुस्त दुरुस्त र संगठित पार्दै दुर्गा मा.वि. को ख्यातीलाई स्कूल संस्थापकै कान्छो सुपुत्र कामेश्वर प्रसाद सिंहले आफ्नो कुशल र सक्षमकारी नेतृत्वले अगाडी बढाउनमा महत्वपूर्ण भुमिका खेलेको बताउँछन् स्कूलका पूर्व विद्यार्थी एवं पूर्व स. प्राचार्य रामनरेश सिंह। उनको अनुसार प्रधानाध्यापक कामेश्वर प्रसाद सिंहको भूमिका अतुलनिय र नेतृत्वदायी रह्यो । सिंहले झण्डै एक दशकभन्दा बढी स्कूलको नेतृत्व गरेका थिए ।
झण्डै ५० हजार भन्दा बढी विद्यार्थी अध्यापन गराउन सफल श्री दुर्गा मा.वि. मा उच्च मा.वि. (+२) को स्वीकृति वि.सं. २०६४ सालमा तथा स्नातकको स्वीकृती २०६६ सालमा प्राप्त भएको हो । आधुनिक पूर्वाधार, कम्प्यूटर, प्रयोगशाला, खेलमैदान, सभाहल लगायतको संरचना लगभग तीन विग्हामा फैलिएको छ । विद्यालयले ७५ वर्ष पूरा गरेको अवसरमा नयाँ र आधुनिक स्तरको प्रवेश द्वार समेत निर्माण गरिएको लेखापाल सुमितकुमार सिंहले जनाएका छन् ।
हाल विद्यालयमा करिव १ हजार ७ सय विद्यार्थी र कलेजमा ६५ जना अध्यनरत रहेको छ । कक्षा १ देखि १२ सम्म, स्नातक तथा ४ वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ (कक्षा ९ देखि १२ सम्म) एवं ३ वर्षे कम्प्पूटर इन्जिनियरिङ डिप्लोमा (एसइई पछि) कोर्सहरु विद्यालयमा संचालन रहेको लेखापाल सिंहले बताए । विद्यालयमा २० जना शिक्षक, कलेजमा १० जना र ५ जना प्रशासनिक कर्मचारी लगायत ३५ जना कूल जनशक्ति प्रचालित छ ।
यस विद्यालयका विद्यार्थीहरु मुलुककै राजनीति, स्वास्थ्य, न्याय, शिक्षा, खेलकूद, विज्ञान प्रविधि, कला, मनोरंजन, पत्रकारिता लगायत क्षेत्रमा विशिष्ट उपस्थिती दर्ज गराउन सफल रहँदै आएका छन् । देशबाहिर पनि अन्य मुलुकहरुमा यहाँका विद्यार्थी आफ्नो सफल र गरिमामय उपस्थिती जनाउँदै आएको तथ्यले दर्शाउँछ ।
पूर्व उपसभामुख रामविलास यादव, पूर्वराज्यमन्त्री डा. सुरेन्द्रकुमार यादव, पूर्वन्यायधीस तथा छानविन आयोगका पूर्वअध्यक्ष लोकेन्द्र मल्लिक, वैज्ञानिकद्वय डा. विदुर उपाध्याय र डा. शशिकुमार सिंह, भुकम्प प्राधिकरणका महानिर्देशक श्यामकिशोर सिंह, पूर्व नगरप्रमुख संजयकुमार सिंह लगायत यसै विद्यालयका उत्पादन हुन् । जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा देशभर ख्याती कमाएको यो विद्यालयमा पठनपाठन्, खेलकुद, सांस्कृतिक कार्यक्रम, अनुशासन, मर्यादा र दक्ष शिक्षक सहित उत्कृष्ट नेतृत्वको प्रमुख भुमिका रहेको बताउँछन् प्रसिद्ध डेंटिस्ट डा. मनोज कुमार उपाध्याय ।
विद्यालयको गरिमा र चर्चामा विद्यार्थीहरुको उत्कृष्ट परिणामको महत्व अध्याधिक देखिन्छ । साथै ती विद्यार्थीलाई उत्कृष्ट र परिणाममूखी बनाउनमा शिक्षकको खास भुमिका हुने गर्दछ । विद्यार्थी एवं विद्यालयलाई उत्कृष्ट बनाउने अनेकौं शिक्षकमध्ये केहीको नाम उल्लेख गर्न अनिवार्य हुन्छ । यसै क्रममा शाहीजी मास्टरको नाम अग्रपंक्तिमा पर्दछ । गणितका अध्यापक वाशुदेव शाही वि.सं. १९९६ देखि नै मनरामा शिक्षाको ज्योति प्रदान गर्न भारतबाट आएका थिए । उनी वि.सं. २०५१ सम्म विद्यालयमा सेवारत रहेका थिए । विद्यालय स्थापनाकालदेखि नै करिब १५ वर्ष लगातार प्रार्चायको भूमिकामा राम एकवाल सिंहको महत्वपूर्ण योगदान रहेको थियो । स्थापना कालदेखि नै अध्यापक आनन्दी प्रसाद उपाध्याय (पण्डिजी), देवनन्दन सिंह, रामआश्रय तिवारी सहितको अमूल्य र अतुलनिय योगदान रहेको स्मरण गर्दछन् विद्यालयकैपूर्व छात्र सीताराम सिंह । यस विद्यालयले बिगत ५६ वर्षदेखि निरन्तर फलामेद्वार एसएलसी÷एसइइ संचालन गर्दै आएको छ । यस विद्यालयका प्रथम प्रार्चाय (प्र.अ.) गुन्जेश्वरी प्रसाद कायस्थ (मा.वि. स्वीकृती पश्चात) थिए। हालसम्म १० जना प्रधानाध्यापकको कार्यकाल र अनेकौं शिक्षक कर्मचारीको साक्षी रहेको दुर्गा मा.वि. नमूना विद्यालयको रुपमा मुलुकमा परिचित छ ।
संस्थापक रामऔतार सिंहकै परिवारका सदस्य राम स्वार्थ सिंह र हरिनारायण सिंह दाजुभाइले आफ्नो हजुरआमा सकला देवीको स्मृतिमा दूई कोठे पक्की भवन निर्माण गरी विद्यालयलाई हस्तानान्तरण गरेका थिए। दरवारको नामले सम्बोधन हुने संस्थापक परिवारकै कारण वरपरमा २५ गाउँभन्दा बढीका विद्यार्थीले यस विद्यालयबाट विद्या आर्जन गर्ने सौभाग्य पाएका छन् । मनराकट्टी, भोल्ही, साँढा, शिसवाकटैया, चौरिया, पोखरभिन्डा, सौनौल, इटहर्वा, वेलाएकडारा सहितका दर्जनौं गाउँबाट यहाँ दशकौसम्म विद्यार्थीको ओइरो लाग्ने गर्दथ्यो । राजपूत, ब्राह्मण, भूमिहार, धोवी, यादव, तेली, धानुक, लोहार, हजाम, कुम्हार, मुस्लिम जातजाति र धर्मका विद्यार्थीको वर्चश्व विद्यालयमा रहदै आएको देखिन्छ ।
श्री दुर्गा माध्यमिक विद्यालयले आफ्नो अनेकौं कालखण्डबाट गुज्रदैं ८० औं वार्षिकोत्सव मनाउने तयारीमा छ । आफ्नो पाँच वर्षिय विशेष कार्यक्रम मार्फत विद्यालयको आन्तिरीक सक्षमता बृद्धि, भौतिक निर्माण, पुस्तकालय, कम्प्यूटर प्रविधियुक्त इ. पुस्तकालय सहित नमुना विद्यालयको रुपमा स्थापित गर्दै जाने लक्ष्य रहेको बताउँछन्, विद्यालयका प्रधानाध्यापक प्राचार्य कुमोद कुमार सिंह ।
शिक्षण सिकाई अभिवृद्धि, विद्यार्थी शिक्षकको अनुपात, शिक्षकको पेशागत विकास, शैक्षिक साम्रगीको समुचित व्यवस्थापन, आधुनिक प्रविधियुक्त कक्षाकोठा, खेल मैदान तथा बाग बगैचा सहितको प्याकेजमै सुविधा र सहजता उपलब्ध गराउन प्रतिबद्ध रहेको जानकारी संचालन समितिका अध्यक्ष, दाता परिवारका सदस्य तथा पूर्वमेयर संजयकुमार सिंहले बताएका हुन् । संस्कारयुक्त र व्यवहारीक शिक्षामा जोड रहेको उनले बताए ।